गृहपृष्ठ खबर बाणगंगाका दुई एग्रोभेट र एक किराना पसलमा अनुदानको युरिया मल फेला

बाणगंगाका दुई एग्रोभेट र एक किराना पसलमा अनुदानको युरिया मल फेला

प्रकाशित मिति:

हरि घिमिरे (कपिलवस्तु) : कपिलवस्तुको बाणगंगा नगरपालिकामा बजार अनुगमनलाई तीब्रता दिईरहेका बेला दुई वटा एग्रोभेट र एक किराना पसलमा अनुदानको युरिया मल फेला परेको छ । अनुगमनका लागी नगरपालिकाबाट कृषि शाखा प्रमुख लेष बहादुर के.सी.को नेतृत्वमा खटिएको टोलीले सो युरिया मल फेला पारेको हो । बाणगंगा नगरपालिका वडा नंं.२ को अधिकारी एग्रोभेटमा ४ बोरा, वडा नं. ४ को अनुप किसान भेट सेन्टरमा ६ बोरा र वडा नं.९ को आदर्श गल्ला भण्डारमा ७ बोरा मल फेला परेको थियो । अनुगमन टोलीले फेला परेको १७ बोरा अनुदानको मल जफत गरेको छ ।

खेतीपातीको सिजनमा कृषकहरुले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा यसरी सहकारीहरुको बदमासीका कारण एग्रोभेट र किराना पसलमा मल फेला पर्नु दुखत भएको कृषि शाखा प्रमुख लेष बहादुर के.सी.ले बताए । उनले यस्ता सहकारीको खोजी गरि सहकारीको खारेजीको प्रक्रिया नै अगाडि बढाईने बताए । अनुमति बेगर किसानले पाउने अनुदानको युरीया मल बिक्री वितरण गरेकोले निज पसलका प्रोपाइटरलाई मल बेच्न बन्द गर्ने अनुगमन टोलीले चेतावनी दिइएको छ ।

नगरमा संचालित पसलमा कुनै मापदण्ड पुरा भएको नदेखिएको, संचालन भएको ठाउँ पनि निकै फोहर र दुर्गन्धित रहेकाले तुरुन्त बन्दको लागि १५ दिने चेतावनी पत्र थमाइएको छ । गत बर्ष पनि सो आदर्श गल्ला भण्डारमा अनुमति बेगर कृषि मल बिक्री गरी नगरले दण्ड जरीवाना गराएको थियो । अनुगमन टोलीले १५ दिन भित्र छड्के अनुगमन गर्दा पनि त्यस्तै भेटिए सो गल्ला भण्डारलाई शिल गरिने अनुगमन टोलीले चेतावनी दिएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम नेपाल सरकारबाट तोकिएको निकायबाट अनुमति लिई बाणगंगा नगरपालिकाको क्षेत्रभित्र जुनसुकै कारोबार गर्ने व्यक्ति वा संस्थाले व्यवसाय/ कारोबार संचालन गरे बापत नगरपालिकामा समेत सूचिकृत÷ दर्ता भै नगरसभाबाट तोकिएको दररेटको अधीनमा रही वार्षिक व्यवसाय कर बुझाउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

सोहि व्यवस्था अनुरुप नगरपालिकाले व्यवसायिहरुलाई करको दायरामा ल्याउन तथा गुणस्तर मापन गर्नका लागि अनुगमन गरिएको नगर उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक चक्रपाणि अर्यालले जानकारी दिए । त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बासुदेव खनालले हालसम्म संचालनमा रहेका व्यापार व्यवसाय नगरपालिकामा सूचिकृत/ दर्ता हुन छुटेका व्यवसायिहरुले आ.व.२०७८÷०७९ को पौष मसान्तभित्र दर्ता तथा सूचिकृत गर्नका लागि आग्रह गरे ।

उनले व्यवसाय संचालनका लागि चाहिने सबै कागजातहरु संलग्न राखि नगरपालिकामा अनिवार्यरुपमा सूचिकृत/ दर्ता गरि तोकिएको कर जम्मा गर्नु अनुरोध पनि गरेका छन् । साथै तोकिएको समयमा दर्ता नगरेमा दण्ड जरिवाना समेत असुल गरि नियमानुसार कारवाहीको प्रक्रिया अगाडी बढाईने ब्यहोरामा समेत व्यवसायि हरुलाई ध्यनाकृष्ट गराएका थिए । अनुगमनमा जनप्रतिनिधी, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार