महेन्द्रनगर : महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न वनबासा पुलमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार दिउँसोको मापनअनुसार महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख ४५ हजार क्युसेक नाघेको बताए । भारतीय पक्षले पुल जीर्ण रहेको कारण देखाउँदै नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि ठूला तथा मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको छ ।
पुल बन्द हुँदा नेपाल–भारत आवातजावत गर्ने यात्रुहरु प्रभावित बनेको प्रहरीले जनाएको छ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम औंल्याइए पनि यहाँबाट मजदुरीका लागि दैनिक सयौं नेपाली भारत जाने गरेका छन् ।
गत जेठ महिनायता महाकाली नदीमा दुई पटक ठूलो बाढी आइसकेको छ । यसअघि आएको बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल संरचनामा क्षति पुर्याएको थियो । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडीमा अविरल वर्षा हुँदा र भारतले धौलीगङ्गाको बाँध खोल्दा यहाँ महाकाली नदीमा पानीको बहाव बढ्ने गरेको छ ।
आइतबार रातिदेखिको वर्षाका कारण दार्चुलामा जनधनको क्षति हुनुका साथै पहाडी जिल्लामा पहिरो जाँदा सडक अवरुद्ध बनेका छन् ।