गृहपृष्ठ खबर वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

प्रकाशित मिति:

हेटौडा : वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्।

मंगलबार उनले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गरेका थिए। खनालले गत भदौ २ गते मन्त्री पदमा शपथ लिएका थिए।

खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराएका थिए। खनाल नेकपा (एस)का केन्द्रीय सदस्यसमेत हुन्।

अल्पमतमा अष्टलक्ष्मी

यसो त वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा परिसकेकी छिन्। नेकपा एमाले विभाजन पछि १२ जना प्रदेशसभा सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएसँगै शाक्य औपचारिक रुपमा अल्पमतमा परेकी हुन्।

एमाले विवाद चुलिएर औपचारिक रूपमा दुई दलमा विभाजन भएकै दिन शाक्य प्रदेशको मुख्यमन्त्री बनेकी थिइन्। माधव नेपाल समूहमा रहेकी उनले एकताका लागि भन्दै मुख्यमन्त्री बनेको बताउँदै आएकी छिन्। तर, सत्ताकै लागि पार्टी भने नछाड्ने घोषणा उनले गरिसकेकी छिन्।

बहुमत प्राप्त संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले सामान्य अवस्थामा विश्वासको मत लिन नपर्ने भएपनि सत्तारुढ दल एमाले विभाजन भएकाले अब भने विश्वासको मत लिनु पर्ने भएको छ। १२ जना सांसदले साथ छाडेपछि प्रदेशसभामा शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून रहेको छ।

सम्बन्धित् समाचार