काठमाडौं : नेकपा (एमाले)ले महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी नदीमा बेपत्ता भएको घटनालाई सरकारले थामथुम गर्ने प्रयासमा लागेको आरोप लगाएको छ। एमालेले आज एक विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो।
गत साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह धामी नदीमा बेपत्ता भएका थिए। घटना भएको एक महिनाभन्दा बढी समय बितेको भन्दै एमालेले यस विषयमा छानबिन गर्न गठित समितिको म्याद पटक(पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ।’
नागरिकको जीवनसँग जोडिएको गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति एमालेले खेद व्यक्त गरेको छ। त्यस्तै, घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग समेत गरेको छ।