काठमाडौँ : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको भन्दै स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि वडा तहको अधिवेशन सुरु हुँदै छ ।
देउवाले शुक्रबार बिहानै भिडियो सन्देश जारी गर्दै यस्तो आग्रह गरेका हुन् । ‘स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउँदै जन–जनमा लोकतन्त्रको रक्तसंचार गर्छ । देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु,’ देउवाले भनेका छन्, ‘लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेस लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैं अग्रणी साबित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैं अगाडि छ ।’
देउवाले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको बताएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसलाई बलियो बनाउन जरुरी छ । त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन् ।
संवैधानिक बाध्यताले कोरोना महामारीकै बीच महाधिवेशन गर्नुपरेको भन्दै देउवाले सामाजिक दुरी कायम गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर मात्रै वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् । कांग्रेसको विगतको योगदान, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको भन्दै देउवाले भिडियो सन्देशमार्फत् जनताको विश्वास जित्ने गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।