काठमाडौं : बाँके प्रहरीले शुक्रवार दिउँसो ४ किलो सुनसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। काठमाडौंबाट सुन लिएर विमान मार्फत् नेपालगञ्ज पुगेका दुई जना युवकलाई चार किलो २१ ग्राम सुन सहित प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षीय बुद्धिमान खाती रहेको जिल्ल प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए।
उनीहरु शुक्रवार दिउँसो श्री एयरलाइन्सको विमानबाट नेपालगञ्ज पुगेका थिए। उनीहरुले लगाएको जुत्तामा प्रहरीले सुन फेला पारेको थियो।
विश्वकर्माको दुवै खुट्टामा लगाएको जुत्ताबाट दुईरदुई वटा सुनको बिस्कुट र खातीको लगाएको जुत्ताको तलुबामा दुई वटा सुनको बिस्कुट बरामद गरेको थियो। जसको तौल ३ किलो ९ सय ९४ ग्राम थियो। त्यस्तै, बाँकी सुन बुद्धिमानले बोकेको झोलाबाट सुनका गहना सहित गरेर ४ किलो २१ ग्राम फेला परेको हो।
अबैध तरिकाले सुन ल्याएको भन्दै प्रहरीले शुक्रवार राति उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरिसकेको छ। तर, उनीहरुले आफुले सुन किनेर ल्याएको दाबी गर्दै आएको एसपी अधिकारीले जानकारी दिए।
उनीहरुको साथबाट प्रहरीले सुनको तीन वटा रसिद समेत बरामद गरेको छ। काठमाडौंको बत्तिसपुतलीमा रहेको ज्वेलरीबाट सुन किनेको बिल फेला परेको छ।
उनीहरुले सुरुमा आफ्नै सुन भएको बयान दिएका थिए। तर, पछि भरिया भएको बयान दिएको प्रहरीको दाबी छ। उनीहरु सुनको कालीगढको रुपमा काम गर्दै आएको खुलेको छ।