काठमाडौं : नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन रोक्न माग गरिएको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेञ्चमा तोकिएको छ। सर्वोच्च अदालतले आइतबार मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको एकल इजलास तोकेको हो।
बागमती प्रदेशको प्रदेश सभा सदस्य नेपाली कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन रोक्न माग गर्दै भदौ १८ मा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना फैलने भएकाले कोरोना नियन्त्रण भएपछि मात्र महाधिवेशन गर्ने गरी आदेश माग गरिएको छ। कांग्रेस महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ बाट वडा तहको अधिवेशन सुरु भइसकेको छ।