बुटवल : भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन् । रुपन्देहीका होटलमा मात्र झण्डै रु २५ अर्बको लगानी छ । यहाँ साना ठूला गरी दुई हजार ५०० होटल छन् ।
त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम बताउँछन् । अध्यक्ष गौतमका अनुसार अन्तरराष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनपछि यहाँको पर्यटन व्यवसाय फस्टाउने अपेक्षाले यो क्षेत्र लगानीकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ ।
पछिल्लो दुई वर्षमा यहाँ एक सय होटल थपिएका छन् तर कोरोना भाइरस महामारीका कारण यहाँ सञ्चालनमा रहेका पर्यटन व्यवसाय भने धरासायी बन्दै गएको अध्यक्ष गौतमको भनाइ छ ।