गृहपृष्ठ खबर इन्टरनेटको गुणस्तरमा प्रयोगकर्ताको गुनासै-गुनासा !

इन्टरनेटको गुणस्तरमा प्रयोगकर्ताको गुनासै-गुनासा !

प्रकाशित मिति:

‘म बस्ने घरको तीन फ्ल्याटमा तीन अलग–अलग कम्पनीका नेट जोडिएका छन् । नेट जोड्नुअघि भनेजस्तो सेवा कसैको छैन,’ नेपालमा सञ्चालित इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको सेवाको विषयमा गुनासो गर्दै सामाजिक सञ्जालमा सञ्चारकर्मी टिपी भुसालले गरेको टिप्पणी हो यो । उनले कम्पनीको नाम भने उल्लेख गरेका छैनन्, तर सेवाप्रदायकहरूको गुणस्तरीय सेवाको विषयमा भने सुझाब माग गरेका छन् । नेपालमा सञ्चालित इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको गुणस्तरका विषयमा अधिकांश उपभोक्ताको गुनासो भुसालकै जस्तो छ । इन्टरनेटको गुणस्तरदेखि बिलिङ र बिक्रीपछिको सेवामा प्रयोगकर्ताको गुनासै–गुनासो देखिन्छ । तर, यसमा न त सेवाप्रदायकहरूले सुधारको प्रयास गरेको देखिन्छ, न त सेवाप्रदायकले नै चासो देखाएको पाइन्छ ।

भक्तपुर चागुनारायणका विशेष खनालले दुई वर्षअगाडि वल्र्डलिंक कम्प्युनिकेसनको इन्टरनेट जोडेका हुन् । कोभिड महामारीले कार्यालयको काम पनि घरबाट गर्नुपर्ने भएपछि उनले दिनभरि इन्टरनेटको प्रयोग गर्छन् । खनालले मासिक एक हजार पाँच सय ८० रुपैयाँ भुक्तानी गरी २० एमबिपिएस स्पिडको इन्टरनेट जोडेका हुन् । तर, बीच–बीचमा इन्टरनेट कनेक्सन काटिने समस्याले उनी पनि हैरान छन् । ‘अहिले कार्यालयको काम पनि घरमा नै गर्नुपर्छ । छोराछोरीलाई पनि अनलाइन पढाउनुपर्छ । तर, पैसा तिरेजत्तिको स्पिड कहिल्यै आउँदैन,’ उनले भने । तर, कसलाई भन्नु रु इन्टरनेट नभई पनि भ’को छैन । त्यसैले जेनतेन कामचलाउ गरिरहेको उनले गुनासो गरे ।

सोह्रखुट्टेका राजन पौडेलले चार वर्षदेखि सुबिसुको इन्टरनेट प्रयोग गर्दै आएका छन् । तर, सुबिसुको सेवाबाट उनी हैरान छन् । पौडेलले मासिक एक हजार ६ सय ३० भुक्तानी गरी ३० एमबिपिएसको इन्टरनेट सुविधा लिएका हुन् । तर, हप्तामा कम्तीमा पनि तीनपटक इन्टरनेटको कनेक्सन काटिन्छ । ‘हप्तामा कम्तीमा तीनपटक इन्टरनेट काटिन्छ । कार्यालयमा फोन गर्‍यो भने तपाईंको एरियामा इन्टरनेट समस्या छ भन्छन्,’ उनले भने । कहिलेकाहीँ त दिनभर कनेक्सन नआउने उनले गुनासो गरे ।

जोरपाटीका प्रभात भट्टराईले दुई वर्षअगाडि वार्षिक १४ हजार शुल्क भुक्तानी गरी २० एमबिपिएस स्पिडको इन्टरनेट जडान गरेका थिए । तर, उनले शुल्क भुक्तानी गरेअनुसारको कहिल्यै इन्टरनेट सुविधा पाएनन् । ‘काम गर्दागर्दै बीच–बीचमा इन्टरनेट बन्द हुन्छ । १५ देखि २० मिनेट कनेक्सन काटिन्छ । कार्यालयमा फोन गर्‍यो, खासै प्रतिक्रिया दिँदैनन्,’ उनले भने । कार्यालयले गुनासो नै नसुन्ने भएपछि भट्टराईले सम्पर्क गर्न पनि छाडिदिए ।

बुद्धनगरका सुदीप बस्नेतले ६ महिनाअगाडि क्लासिक टेकको इन्टरनेट जोेडेका हुन् । उनले मासिक १५ सय भुक्तानी गरी ३० एमबिपिएस स्पिडको इन्टरनेट जोडेका हुन् । तर, कम्पनीले १–२ एमबिपिएस स्पिड मात्रै दिने गरेको उनले गुनासो गरे । ‘मैले ३० एमबिपिएसका लागि पैसा तिरेको हो । तर, कहिलेकाहीँ केबिपिएसको स्पिड दिइरहेको हुन्छ । कम्पनी परिवर्तन गरौँ भने पनि हैरान छ । जसको इन्टरनेट पनि यस्तै स्लो भएको गुनासो सुनिन्छ,’ उनले भने । स्पिड मात्रै कम होइन, कहिलेकाहीँ त इन्टरनेट कनेक्सन नै काटिन्छ । ‘कहिलेकाहीँ १–२ घन्टामा कनेक्सन आउँछ । कहिले त ५ दिनसम्म पनि कनेक्सन जोडिँदैन,’ उनले भने । कार्यालयमा गुनासो गर्‍यो भने पनि खासै प्रतिक्रिया नदिने गरेको उनले गुनासो गरे ।

सम्बन्धित् समाचार