दाङ : तुलसीपुर उपमहानगरपालिकाका सबै विद्यालय भदौ २७ देखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन हुने भएका छन्।
शिक्षा महाशाखाका अधिकृत चक्र भण्डारीका अनुसार तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयलाई पत्राचार गर्दै भदौ २७ देखि भौतिक उपस्थितिमै पठनपाठन थाल्न भनिएको छ।
कोरोना संक्रमणको दोस्रो लहरले शैक्षिक संस्था भौतिक रूपमा सञ्चालनमा आउन नसकेका बेला जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको भदौ १८ को बैठकले निर्णय गरेअनुसार विद्यालय सञ्चालन कार्यढाँचा २०७७ र उपमहानगरले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण कार्ययोजना २०७७ अनुसार विद्यार्थीको उपस्थितिमै पठनपाठन गराउन आग्रह गरिएको छ।
विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ। हाललाई स्कुल बस सञ्चालन नगरी विभिन्न सिफ्टमा विद्यालय सञ्चालन गर्न भनिएको छ। एक सिफ्टमा कम्तीमा ३ घण्टा कक्षा सञ्चालन गर्नुपर्ने, सञ्चालनका क्रममा एउटा कक्षा कोठाबाट अर्को कक्षामा आवतआवत नगर्नसमेत भनिएको छ।
एउटा कक्षामा ५० विद्यार्थी भएका विद्यालयले एकै सिफ्टमा चलाउन र त्योभन्दा बढी विद्यार्थी भएकाले २र३ सिफ्टमा सञ्चालन गर्नुपर्ने, कक्षा कोठामा बढीमा १५ जना विद्यार्थी भौतिक दूरी मिलाएर व्यवस्थापन गर्नुपर्ने, सम्भव भए अभिभावकले विद्यार्थी पुर्याउने र लैजाने व्यवस्था मिलाउन पनि सूचनामा भनिएको छ।