गृहपृष्ठ खबर कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणना गरिने

कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणना गरिने

प्रकाशित मिति:

काठमाडौं : सरकारले आउँदो कात्तिक २५ देखि देशभर जनगणना गर्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले आगामी २५ कात्तिकदेखि ९ मंसिरसम्म मूल गणना गर्ने जनाएको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागले जनगणनाको तालिका सार्वजनिक गरेको हो । काठमाडौं जिल्लामा भने राष्ट्रिय जनगणनाको काम ‘पेपरलेस’ हुनेछ । यसका लागि ट्याबलेट प्रयोग गरिने विभागले जनाएको छ ।

अरु जिल्लामा भने म्यानुअल्ली रुपमै जनगणना गरिने छ । यही भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजरहरू घरघरमा पुगेर सूचीकरणको काम गर्ने पनि विभागले जनाएको छ ।

त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिनेछ ।

यसअघि विभागले असार ८ गतेदेखि जनगणना गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण जनगणना स्थगित गर्नुपरेको थियो ।

नेपालमा वि।सं १९६८ सालबाट जनगणना गर्न थालिएको हो । त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन नसकेको हो । २००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो ।

त्यसपछि महामारीका कारण अहिले दोस्रो पटक जनगणनाको कार्यतालिका प्रभावित भएको हो । यस वर्ष भने २०७८ सालभित्रै जनगणना सकिने विभागको भनाइ छ ।

सम्बन्धित् समाचार