गृहपृष्ठ खबर कपिलवस्तुमा विद्यालय खोल्ने कसरत : टोलटोलमा कोभिडका बिरामी खोज्दै शिक्षक

कपिलवस्तुमा विद्यालय खोल्ने कसरत : टोलटोलमा कोभिडका बिरामी खोज्दै शिक्षक

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुका शिक्षकहरु कोभिडका लक्षण देखिने विरामी खोज्न समुदायमा पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोभिडको तेस्रो लहरबाट जोगाइ विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न शिक्षकहरु समुदायसम्म पुगेका हुन् । हरेक विद्यालयले आफ्नो सेवा क्षेत्रका घरदैलोमा पुगेर तथ्यांक लिने कार्य सुरु भएको छ । शिक्षक शिक्षिकाको सहयोग लिई घरमुली र परिवारका सदस्यको रेकर्ड लिने, ज्वरो आएको, रुघा खोकीको अवस्था बुझेर शंकास्पद व्यक्तिको विवरण स्वास्थ्य चौकीमा दिनेगरी काम सञ्चालनमा आएको छ । शंकास्पद व्यक्तिको स्वास्थ्य चौकीले एन्टीजिन विधिबाट कोरोनाको परीक्षण गर्ने व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए ।

कोभिडसँगै विद्यालयमा कक्षा संचालन गर्न चुनौती भइरहेको बेला जिल्लामा पढाइ संचालन गर्न नमूना अभ्यास सुरु भएको उनको दाबी छ । शैक्षिक सत्र सुरु हुनु अगावै बन्द भएको पठनपाठन सञ्चालनका लागि यसले मार्ग निर्देशन गर्न सक्ने र जोखिमसमेत कम हुने बताइएको छ ।

हाल सम्म बुद्धभूमी नगरपालिका, विजयनगर गाउँपालिका, शिवराज नगरपालिकाका शिक्षक समुदायमा पुगेर तथ्यांक संकलन गर्ने काम सुरु गरेका छन् । बाणगंगा नगरपालिकामा तथ्याङक सङ्कलन कार्य सम्पन्नपछि समुदायमा पुगेका शिक्षकको एन्टीजिन परीक्षण गर्दा १२ जना शिक्षकमा संक्रमण देखिएको बाणगंगाका विद्यालय निरीक्षक खिम बहादुर जिसीले बताए । अभियानको रुपमा सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयले १० पालिकालाई अभिमुखीकरण कार्यक्रम संचालन गरेको थियो ।

ति मध्ये महाराजगन्ज नगरपालिका र कृष्णनगर नगरपालिकाले छलफलमा उपस्थीत नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताए ।

सम्बन्धित् समाचार