सागर वि.क. (वैखरी अनलाईन) : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध कपिलवस्तुका विभिन्न सात राजनैतिक दल र तिनका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । बाणगंगाको चारनम्बर चोकमा ७ राजनितिक दल र तीनका भातृ संगठनहरुको संयुक्त आयोजनामा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले बेलुन उडाउदै एमसीसीको विरोध गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (माले), नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका थिए भने सोही अनुसार आज विरोध प्रर्दशन गरेका हुन् । विरोध कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले यस्ता सम्झौतालाई आम नेपाली नागरिकले कहिले पनि स्वीकार नगर्ने जिकीर गरेका थिए । उनीहरुले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट पास गराउने चलखेल भएको र विदेशी हस्तक्षेप बढ्दै गएको प्रति आपत्ति जनाएका थिए ।
(एमसीसी) नेपालको हितमा नभएको बताउदैं तत्काल खारेज हुनुपर्ने माग गर्नु पर्ने प्रदर्शनकारीहरुले माग गरेका थिए । उनीहरुले वैदेशीक हस्तक्षेप बन्द गर्न माग गर्दै भरतीय पक्षको ज्याजतीको चर्को विरोध समेत गरेका छन् । यस्तै प्रदर्शनकारीहरुले एमसीसीको विरोधमा जिल्लाका युवा, बुद्धिजिवी, व्यापारी, देशभक्त, क्रान्तिकारी र बामपन्थी नागरिकलाई सशक्त रुपमा अघि बढ्न आह्वान गरेका छन् ।
एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै यसलाई लागू गर्न नहुने माग सहित जिल्लाका ७ कम्युनिष्ट घटकले विरोध प्रर्दशन गरेको जनाईएको छ ।