गृहपृष्ठ खबर गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, २४ जना घाइते

गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीनको मृत्यु, २४ जना घाइते

प्रकाशित मिति:

नवलपुर : नवलपुरको गैंडाकोटमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएका थिए।

बस सडकबाट १० फिट तल खस्दा ३ जनाको मृत्यु भएको र २४ जना घाइते भएको प्रहरीले जनाएको छ। बिहान ४ बजे भएको दुर्घटनामा २ जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिपकुमार गिरीले जानकारी दिए।

मृत्यु हुनेहरूमा बर्दिया जिल्ला बासगढी नगरपालिका वडा नम्बर-८ की ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर घर भएकी ४० वर्षीया रंगी तिवारी र कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने अन्दाजी ३०र३५ वर्षका कृष्ण राना रहेको प्रहरीले जनाएको छ। सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।

सम्बन्धित् समाचार