बुटवल : वर्षेनी बढ्दो जनघनत्व र बस्ती विकासका कारण तराईमा खुला क्षेत्र तीव्र रुपमा मासिएका छन्। सार्वजनिक र संरक्षण गरेर राखिएका क्षेत्रमा पनि अनेक नाममा अतिक्रमण भएर साँघुरो भएको अवस्था छ।
यस्तै अवस्थाको विश्लेषण गर्दै बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरी योजना बनाएको छ। सार्वजनिक जग्गालाई खुला क्षेत्रका रुपमा र बहुउपयोग हुनेगरि संरक्षण गर्न थालिएको छ।
खाली र खुला ठाउँको अभाव देखेपछि उपमहानगरले संरक्षण गर्दै खुलामञ्च बनाउने योजना बनाएको छ। बुटवल खुलामञ्च निर्माणका लागि गुरुयोजना बनाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
खुलामञ्चको प्रस्तावित करिब १४ विगाह क्षेत्रलाई समेटेर गुरुयोजना तयार भइसकेको छ। गुरुयोजनामा प्राविधिक तथा विषय विज्ञहरुबाट थप केही सुझाव लिने क्रम चलिरहेको र अबको केही समयमै निर्माणकार्य सुरु हुनेगरि तयारी भइरहेको प्रमुख सुवेदीले बताए।
बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको वडामै खुलामञ्च निर्माणको तयारी भइरहेको छ। उक्त वडाको रङ्गशाला नजिकैको जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागिएको हो।
जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहुउपयोग पनि हुनेगरि गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताए। बुटवल खुलामञ्चलाई कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपतकालिन अवस्थाको उद्धर स्थल रुपमा समेत उपयोग गर्न सकिने गरि गुरुयोजनामा समेटिएको प्रमुख सुवेदीको भनाइ छ।