गृहपृष्ठ खबर लुम्बिनीमा संविधान दिवसमा प्रमुख विपक्षी एमालेलाई दिइएन निम्तो

लुम्बिनीमा संविधान दिवसमा प्रमुख विपक्षी एमालेलाई दिइएन निम्तो

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा गरेको विशेष समारोहमा नेकपा एमाले उपस्थित भएन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा गरिएको संविधान दिवस मूल समारोहमा प्रमुख विपक्षी एमालेलाई औपचारिक निम्तो नै नगरिएका कारण अनुपस्थित भएको हो ।

यस्तै सत्तारुढ गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीका तीनै जना मन्त्रीहरु पनि संविधान दिवस नमनाउने पार्टीको नीति अनुसार अनुपस्थित भए । मूल समारोहमा मुस्किलले एक सय जना हाराहारीको मात्रै सहभागिता देखिन्थ्यो ।

समारोहमा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीको उपस्थिति पनि निकै न्यून थियो । प्रमुख विपक्षी दल एमालेका सांसद एवं पूर्वमन्त्री वैजनाथ चौधरीले आफ्नो दललाई खबर नै नभएको बताए ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सहषराम यादवले वर्तमान संविधान पूर्ण नभएको र महिला, मधेशी, आदिवासी जनजाति र दलितको अधिकार स्थापित नभएकाले संविधान दिवस नमनाउने निर्णय गरिएको बताए ।

संविधान दिवस मूल समारोह आयोजनाको समन्वय गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रविलाल पन्थले सबै माननीयलाई निमन्त्रणा गर्ने जिम्मा प्रदेशसभा सचिवालयको भएकाले त्यहाँ जानकारी गराएको प्रतिक्रिया दिए । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले भने सभामुख र आफूलाई निमन्त्रणा आए पनि माननीयहरुलाई निमन्त्रणाको विषयमा जानकारी नभएको बताए ।

सम्बन्धित् समाचार