गृहपृष्ठ खबर संखुवासभा हत्याकाण्ड : आरोपितका भाइ, बुवासहित अन्य दुई पक्राउ

संखुवासभा हत्याकाण्ड : आरोपितका भाइ, बुवासहित अन्य दुई पक्राउ

प्रकाशित मिति:

काठमाडौं : प्रहरीले संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा थप चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीको बयानका आधारमा थप चार जनालाई पक्राउ गरिएको संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र १८ वर्षीय नरेश कार्की छन्।

चार जनामध्ये लोकबहादुरका भाइ नरेश र बुवा खड्गबहादुर हुन्। ‘हामी अहिले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछौं,’ दाहालले भने।

यसअघि प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई मुख्य आरोपित भनी सार्वजनिक गरेको थियो। तर, अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिको पनि संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरिएको बताइएको छ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार घटनास्थलमा कसैले समातेको, कसैले हिर्काएको, कसैले मुख थुनेको साबिती बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए।

लोकबहादुरको घरमा हत्या गरिएकीमध्ये बुहारी रञ्जना कार्कीको मोबाइल बरामद भएको थियो। त्यसपछि नरेश पक्राउ परेका थिए।

नरेशसमेतको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरिएको उनले बताए। संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा भदौ २१ गते ६ जनाको सामूहिक हत्या गरिएको थियो।

सम्बन्धित् समाचार