गृहपृष्ठ खबर कपिलवस्तुमा नागरिकता बनाउन हप्तौ कुर्नुपर्ने बाध्यता

कपिलवस्तुमा नागरिकता बनाउन हप्तौ कुर्नुपर्ने बाध्यता

प्रकाशित मिति:

कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा कर्मचारी अभाव हुँदा नागरिकता बनाउन सास्ती भएको छ । कर्मचारी अभावका कारण कार्यालयमा अन्य सेवा प्रवाह गर्न समेत जटिल भएको छ । गएको चार महिनादेखि कर्मचारी न्यून भएको कारण सेवाग्राहीको चाप बढ्दै गएको हो । जसका कारण नागरिकता बनाउन टोकन प्रणाली सुरु गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो । अहिले असोज २० गते नागरिकता पालो आउने गरी टोकन बाँडिएको नेपालीले बताउनुभयो ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं.२ निवासी टङ्क राना छोरी ईशा रानाको नागरिकता बनाउनको लागि भदौ २८ गते कार्यालय पुग्नु भएको थियो । भीडभाड धेरै भएको कारणले कर्मचारीले टोकन दिएर गेटबाट फिर्ता घर फर्कनुभयो । असोज १५ गते कागजात लिएर आउने गरी टोकन पाएको रानाले बताउनुभयो । छोरीलाई कम्प्युटरको निःशुल्क तालिमको लागि नागरिकता अनिवार्य चाहिने भएकोले नागरिकता बनाउन कै लागि आधा महिना समय कुर्न पर्दा समस्या भएको रानाको गुनासो छ ।

कार्यालयमा ३३ जना कर्मचारीको दरबन्दी मध्ये ११ जना कर्मचारी रिक्त छन् । दरबन्दी अनुसार तीन जना प्रशासकीय अधिकृतको हुनु पर्ने भए पनि कार्यालयमा प्रशासकीय अधिकृत बिहिन हुन पुगेका छन् । दुई जना प्रशासकीय अधिकृत मध्ये एक जनाको तीन महिना र एक जनाको तीन साता अघि सरुवा भए पनि कार्यालयमा हाजिर हुन आउनु भएको छैन । यसै गरी १० जना नासुको दरबन्दीमा चार जना रिक्त छन् । एक जनाको सरुवा भए पनि कार्यालय सञ्चालन गर्न असहज भएको कारणले सरुवा रोकिएको नेपालीले बताउनु भयो ।

पाँच जना खरीदार हुनु पर्ने भए पनि चार जना रिक्त छन् । कार्यालयमा नागरिकता बनाउनको लागि दैनिक तीन सय जना आउने गरेका छन् । हालको क्षमता अनुसार दैनिक एक सय जनालाई मात्र नागरिकता बाँड्न सकिएको छ । सम्बन्धित कर्मचारी नहुँदा कार्यालय सहयोगी खटिदाँ नागरिकता वितरण जस्तो सम्वेदनशील कार्यमा कमजोरी हुन सक्ने देखिएको अधिकारकर्मी शिवलाल यादवले बताउनु भयो ।

सम्बन्धित् समाचार