बुटवल : बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएका पीडितहरुलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ।
हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण विद्यालयहरुमा आश्रय लिन बाध्य पीडितलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरुप रकम उपलव्ध गराउने नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका प्रमुख सुवेदीको अध्यक्षतामा बुटवलमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रमा उपमहानगरले गरिरहेका निरन्तरका विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनस्थापनाका कामलाई सहकार्यमा थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ।
पहिरो र बाढीले पूर्ण रुपले घर–आवास क्षति भएर विद्यालयहरुमा आश्रय लिई बसेका र अन्यत्र कुनै घर बसोबास नभएका पीडित परिवारका लागि वडा विपद ब्यवस्थापन समितिको सिफारिसमा विद्यालयबाट तत्काल स्थानान्तरण गरी अन्यत्र बहालमा बस्नका लागि तत्काललाई बहाल खर्च रकममा राहत स्वरुप सहयोग गर्ने निर्णय भएको प्रमुख सुवेदीले बताए।
विस्थापितहरुका लागि पुनःस्थापना गर्न सम्बन्धित वडाबाट पीडितको माग निवेदन सहित विवरण संकलन गरी जिल्ला विपद ब्यवस्थापन समिति मार्फत् प्रकृया अगाडि बढाइने भएको छ। साथै बहुप्रकोपको संकटासन्न अवस्थालाई कम गर्न, विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनस्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहका सरकार र संयन्त्रका बीचमा सहकार्यको खाँचो रहेको समेत बैठकले ठहर गरेको छ।
बुटवल उपमहानगरपालिका तिनाउ दानव नदीमा ठूलो बाढी आइ कटान गरेको र चुरे क्षेत्रमा रहेका वडा नं। १, २, ३, ४, ५, ६, ११, १२, १३, १७, १८ मा क्षतिको विवरण सहित जिल्ला विपद ब्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।