काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब १७ महिनादेखि सीमानाका बन्द गरेको छ । पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा संक्रमण कम भए पनि औपचारिक रूपमा नेपालमा सीमानाका हालसम्म खुला गरिएको छैन।
सीमानाका खुला नभए पनि वीरगन्ज–रक्सौल नाकाबाट दिनहुँ सयौं मानिस निर्वाध रूपमा आवतजावत गरिरहेका छन्।
औपचारिक रूपमा सरकारले करिब १७ महिनादेखि कोरोना नियन्त्रणका लागि सीमानाकामा कडाइ गरे पनि मालवाहक सवारी, मोटरसाइक र साइकल विनारोकतोक आउजाउ गरिरहेका छन्। यात्रुवाहक सवारी निषेध हुँदा पनि दैनिक सयौँ मानिस आवतजावत गर्ने गरेका छन् ।
नाकामा खटिएका सुरक्षाकर्मीले मुख्य सडकबाट आवतजावतमा निषेध गरे सर्वसाधारण भन्सार पूर्वपट्टिको बाटो प्रयोग गर्छन्। नेपालबाट जानेहरू निर्वाध आउजाउ गरिरहे पनि भारतबाट भने यात्रुवाहक सवारी आउन रोक लगाइएको छ। वीरगन्ज नाकाबाट मालवाहक भारतीय गाडी र नागरिकले प्रवेश पाए पनि निजी नम्बरका भारतीय सवारीले भने प्रवेश अनुमति पाएका छैनन् ।