काठमाडौँ : परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच सोमबार भेटवार्ता भएको छ । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई शिष्टाचार भेटका लागि राजदूत होउ सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।
परराष्ट्र मन्त्रालयकाअनुसार उक्त अवसरमा मन्त्री खड्का र राजदूत होउबीच द्विपक्षीय विविध विषयमा छलफल भएको थियो । साथै, कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि सहकार्य विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खड्का र होउबीच अन्य दुईपक्षीय के–के विषयमा कुराकानी भयो भन्ने बारेमा मन्त्रालय मौन छ । पछिल्लो समय नेपाल सरकारले हुम्लामा सीमा मिचिएको भन्दै आन्तरिक रुपमा कमिटी गठन गर्न लगाएपछि चीन चिढिएको थियो । किनकी अघिल्लो ओली सरकारले नेपालको चीनसँग सीमा क्षेत्रमा कुनै पनि समस्या नरहेको भन्दै विज्ञप्ती नै जारी गरेको थियो ।
नयाँ सरकार आएसँगै हुम्लामा भूमि मिचिएको छ वा छैन भन्ने बारेमा कमिटी गठन गरेर गृह मन्त्रालयलाई रिर्पोट समेत बुझाई सकेको छ । उक्त रिर्पोटमा कुटनीतिक माध्यममार्फत् दुवै मुलुकको संयुक्त कमिटीले त्यस क्षेत्रको निरिक्षण गर्न सुझाव दिएको छ ।
तर उक्त रिर्पोट अहिले गृह मन्त्रालयमै थन्किएको छ । विवाद नै नभएको स्थानमा विवाद छ भन्ने नेपाल सरकारको क्रियाकलापप्रति चीनको तर्फबाट राजदूत होउले के कुरा राखिन भन्ने विषयमा मन्त्रालयले केहि खुलाएको छैन