काठमाडौं ; बर्दियामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले बारबर्दिया नगरपालिका वडा नम्बर ७ का राम बिहारी भन्ने बिहारी थारूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
उनलाई प्रहरीले आइतबार बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ काँरकाँदोबाट पक्राउ गरेको थियो।
उनीमाथि गुलरिया नगरपालिका वडा नम्बर २ गुजराना बस्ने घिरउ गोडियाको हत्या आरोप छ। १२ वर्षअघि २०६६ साल पुस १५ गते राति सुतिरहेका गोडियामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप थियो।
उनी सो घटनापछि फरार भएका थिए। उनी घटनापछि फरार भई दाङ तथा नेपालगञ्जमा घर बनाउने मिस्त्रीको रूपमा काम गर्दै बसेका थिए।
त्यहाँबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।