कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशंका गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले विरामी को लक्षण र संक्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशंका गरेका छन् । रोगको पुष्टि गर्नका लागि केही विरामीको दिसाको नमुना संकलन गरी ल्याबमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । नमुनाको नतिजा आउन कम्तीमा ४८ घण्टा लाग्ने अनुमान गरिएको छ ।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि विरामी हुनेको दर बढ्दो रहेको छ । मंगलबार राति जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार १२० जना झाडाबान्ताको विरामी रहेका थिए । बुधवार बिहान १० बजे विरामी को संख्या २४० नाघेको कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । विरामी थपिएपछि शिवराज अस्पताल बहादुरगन्जमा एउटै बेडमा तीनजना राखेर उपचार गर्ने बाध्यता रहेको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताउनुभयो । भर्ना भएका मध्ये ३५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र तौलिहवा अस्पतालमा रेफर गरिएको छ ।
विरामीको संख्या बढ्दै गएपछि लुम्बिनी प्रादेशिक अस्पतालबाट दुई जना र कपिलवस्तु अस्पतालबाट चार जना थप चिकित्सक खटाइएको छ । प्रादेशिक अस्पतालका डा।विशाल भट्टराई र डा। जीवन थापाले मंगलबार राति देखि उपचारमा खटिनुभएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटा र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदकुमार गिरी प्रभावित क्षेत्रको निरीक्षणमा आउनुभएको छ । विरामी हुनेको नरोकिएपछि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले सहयोगको लागि अपिल समेत गर्नुभएको छ ।
विरामीको संख्या यकिन छैन
बुधवार विहान २४० भन्दा बढी विरामी भएको बताइएको छ । यो तथ्यांक शिवराज अस्पताल र घरमा पुगी जाँच गर्नेको मात्र रहेको हो । पालिकाभर जम्मा प्रभावितको संख्या यकिन हुन सकेको छैन । नगरपालिकाको वडा नं।७, ८ र ९ का सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरालगायतका बस्तीमा रोग फैलिएको छ । प्रभावित क्षेत्रमा विरामीहरु आफूलाई पायक पर्ने ठाउँमा उपचार गराउँदै आएका छन् ।
पालिकाका निजी क्लिनिकमा समेत विरामी भर्ना गरी उपचार गराउँदै आएका छन् । जसको तथ्यांक पालिकासँग आउन सकेको छैन । यसैगरी शिवराज अस्पतालमा विरामीको चाप बढेपछि अस्पतालको गल्ली, बरन्डा र रोग नियन्त्रणमा आएका विरामीलाई अस्पताल नजिक रहेको राम गोरखा माविमा उपचार गरिएको छ ।
पालिका भरी रोग प्रभावितको संख्या बुधवार साँझ सम्म अपडेट हुने नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराइले बताउनु भयो ।