काठमाडौं : भारतीय जनता पार्टी विदेश विभागको निमन्त्रणामा नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको छ। कांग्रेस सहमहामन्त्री डा।प्रकाश शरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल बिहीबार नयाँ दिल्ली प्रस्थान गरेको हो।
टोलीले आज नै सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नड्डासँग भेट गर्ने कार्यतालिका तय भएको छ। टोलीमा महतसहित उदय शमशेर जबरा र अजय चौरसिया छन् ।
चार दिने दिल्ली बसाइपछि कांग्रेस नेताहरु असोज २५ गते काठमाडौं फर्किने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। नेता महतले भाजपाकै निमन्त्रणामा जान लागेको बताए।
यसअघि भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाको टोलीले नेपाल भ्रमण गरेको थियो। उनले भ्रमणका क्रममा प्रमुख राजनीतिक दलका नेतासँग भेट गरेका थिए।