गृहपृष्ठ खबर कृष्णनगरमा फैलिएको झाडापखाला बारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले पठायो ३ जनाको टोली

कृष्णनगरमा फैलिएको झाडापखाला बारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले पठायो ३ जनाको टोली

प्रकाशित मिति:

काठमाडौं : कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला र पानीजन्य प्रकोपबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक टोली पठाएको छ ।

महामारी रोग विशेषज्ञ डा। शशी कँडेल, डब्ल्यूएचओका एक चिकित्सक र हेल्थ अफिसर सम्मिलित टोली प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।

प्रकोपबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । ‘कृष्णनगरको वडा नम्बर ७, ८ र ९ मा गरी ३२८ जना मानिस बिरामी परेको रिपोर्ट हामीले पाएका छौं । उनीहरुको कपिलवस्तु, बुटवल लगायतका अस्पतालहरुमा उपचाररत छन्’ उनले भने ।

प्रकोप फैलिएको ठाउँमा थप सजगता अपनाउन र पानी उमालेर मात्रै पिउन माइकिङ गरेर अनुरोध गरेको प्रवक्ता डा। पौडेलले बताए ।

मन्त्रालयले पठायो ५० हजार ट्याब्लेट क्लोरिन

मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार पानी शुद्धीकरणका लागि प्रभावित क्षेत्रमा ५० हजार ट्याब्लेट क्लोरिन पठाइएको छ ।

प्रभावित क्षेत्रमा उमालेर मात्र पानी पिउन सर्वसाधरणलाई अनुरोध गर्ने, पानीजन्य प्रकोपबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउने लगायतका प्रयास भइरहेको उनले बताए ।

नगरपालिकामार्फत वडा–वडामा पानी उमालेर मात्रै पिउनका लागि चेतनामूलक कार्यक्रम अघि बढाउन अनुरोध गरिएको उनले बताए ।

कसरी फैलियो प्रकोप ?

पिउने पानी सप्लाइका लागि बिच्छ्याइएको पाइप फुट्दा उक्त ठाउँबाट नै संक्रमण फैलिएको हुन सक्ने अनुमान मन्त्रालयले गरेको छ ।

प्रवक्ता डा। पौडेलले भने, ‘पानीको पाइप फुटेको ठाउँबाट प्रदूषित पानी सर्वसाधरणको घरघरमा पुग्दा संक्रमण फैलिएको हो कि भन्ने आशंका छ । त्यसैले सो ठाउँको पानी र बिरामीको दिसाको नमुना जाँचका लागि काठमाडौं ल्याएका छौं । केही नमुना बुटवलमै छन् ।’

पानी र दिसाको नमुना जाँचको रिपोर्ट आएपछि मात्रै रोगको प्रकोपबारे पुष्टि हुने उनले बताए । त्यहाँ फैलिएको प्रकोप हैजा हो कि हैन भनेर पुष्टि नमुना जाँचको रिपोर्ट आएपछि मात्रै हुने उनको भनाइ छ ।

सम्बन्धित् समाचार