लुम्बिनी प्रदेश सरकारले आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि सरकारमा जाने व्यक्तिहरुको नाम टुंगिसकेको माओवादी केन्द्रका नेताहरुले बताएका छन्।
‘हामीले मन्त्रीको नाम टुंग्याईसकेका छौं। कांग्रेसमा टुंग्याउन बाँकी छ। कांग्रेसको टुंगियो भने आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ’, माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुले भने।
माओवादी केन्द्रले बर्दियाका तिलकराम शर्मा र दाङका इन्द्रजित थारुलाई मन्त्री बनाउने तयारी गरेको छ। शर्माले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउने छन् भने थारुले स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाउनेछन्।
त्यस्तै दाङकै विमला ओलीलाई राज्य मन्त्री बनाउने तयारी थालिएको छ। ओली मुख्यमन्त्री कार्यालयको राज्य मन्त्री बन्नसक्ने सम्भावना रहेको नेता थारुले जानकारी दिए। यसअघि प्यूठानका कृष्णध्वज खड्का मन्त्री भइसकेका थिए।
प्रदेशमा नेकपा एकीकृत समाजवादीले पनि एउटा मन्त्रालय पाएको छ। यसअघि ७ सदस्यीय मन्त्रिपरिषद गठन भएको थियो। जसमा मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ मन्त्री थिए।