गृहपृष्ठ खबर दशैंको चहलपहलसंगै कपिलवस्तुमा केराको माग दोब्बरले बढ्यो

दशैंको चहलपहलसंगै कपिलवस्तुमा केराको माग दोब्बरले बढ्यो

प्रकाशित मिति:

कपिलवस्तु : दशैंको चहलपहलसंगै केराको माग बढेको छ। घटस्थापनादेखि ९ दिनसम्म नौरथाको ब्रत बस्ने र पूजाआजा गर्नेहरु बढी हुने हुँदा केराको माग दोब्बर भएको हो। सदरमुकाम तौलिहवामा फलफूल बेच्ने थोक व्यवसायीहरु अहिले केराको माग बढेपछि व्यापारले गति लिँदा उत्साहित छन्।

उनीहरुलाई अहिले अन्य फलफूल भन्दा केरा बेच्ने चटारो छ। माग बढेपछि उनीहरुले त्रिबेणीबाट केरा किनेर ल्याउने गरेका छन्। पहिले दैनिक ५ क्विन्टल आसपास केरा बिक्री हुन्थ्यो भने अहिले दैनिक १० देखि बढी क्विन्टल बिक्री हुन पुगेको इर्फान फलफूल भण्डारका रईस मन्सुरीले बताए।

विगत वर्षहरुमा दशैंका बेला दैनिक २५ देखि ३० क्विन्टलसम्म केरा बिक्री हुने गरेकोमा यस वर्ष भने त्यसको आधा मात्र बिक्री भएको उनले गुनासो गरे। उता सदरमुकामको मुस्कान फलफूल भण्डारका व्यवसायी समुउल्लाह कुजडालाई भने केरा बिक्रीको भ्याई नभ्याई छ। उनले अहिले दैनिक १० देखि क्विन्टल बढी केरा बिक्री गरिरहेका छन्। पहिले उनले दैनिक ५ क्विन्टल केरा बिक्री गर्दै आईरहेकामा दशैं लागेपछि बिक्री दोब्बर बढी पुगेको उनले बताए। उनले पनि त्रिबेणीबाट केरा ल्याई यहाँ बिक्री वितरण गर्दै आएका छन्।

सम्रगमा गत वर्ष न्दा यस वर्ष बिक्रीमा भने कमी आएको उनले स्वीकारे। ‘कोरोनाले गर्दा बजारमा चहलपहल समेत कम छ विगतको दशै जस्तो केरा बिक्री भएको छैन,’ उनले भने। सदरमुकाम तौलिहवामा मात्र ५ जना फलफूलका थोका व्यापारीहरुले केरा बिक्री गर्ने गरेका छन्। थोक व्यापारीले प्रति किलो २८ देखि ३१ रुपैयाँमा केरा बिक्री हुने गरेको बताउँछन्। यहाँ बासुडी, भुसाबल र नौगडिया जातका केराहरु बिक्री वितरण हुँदै आएका छन्।

घटस्थापनाका बेला धेरै जना ब्रत बस्ने र पूजाआजा गर्ने हुनाले शुद्ध मानिने फलका रुपमा रहेको केरा बढी प्रयोग हुने पंडित ठंडाप्रसाद पराजुलीले बताए। उनले पूजाआजामा पनि भगवानलाई फलका रुपमा केरा नै चढाइने हुँदा केराको माग बढेको बताए। केरामा माग बढे पनि मूल्य भने खासै बढेको छैन। अहिले यहाँ प्रति किलो केरा ४० देखि ५० रुपैयाँमा बिक्री हुने गरेको छ।

सम्बन्धित् समाचार