कोलम्बियाको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ड्रग तस्कर तथा कोलम्बियाको सबैभन्दा ठूलो आपराधिक संगठनका नाइके पक्राउ परेका छन्। डेरियो एन्टोनियो उसुगा उर्फ ओटोनियललाई कोलम्बियाका आर्मी, हवाई फौज र प्रहरीको सामूहिक अपरेसनमार्फत शनिबार पक्राउ गरिएको बिबिसीले जनाएको छ।
कोलम्बिया सरकारले ओटोनियलबारे जानकारी दिनेलाई आठ हजार अमेरिकी डलर इनाम दिने घोषणा गरेको थियो। अमेरिकाले पनि उनको टाउकाको मूल्य पाँच मिलियन अमेरिकी डलर तोकेको थियो।
कोलम्बियाका राष्ट्रपति इभान डुक्वेले उनको पक्राउको प्रशंसा गरेका छन्। ‘यसले ड्रग तस्कर गर्नेहरूका लागि यस शताब्दीकै सबैभन्दा ठूलो झट्का दिएको छ। यो कार्य सन् १९९० को दशकमा भएको पाब्लो इस्कोबारको पतनसँग मात्र तुलना गर्न लायक छ,’ राष्ट्रपति डुक्वेले भिडियो सन्देशमा भनेका छन्। ओटोनियललाई कोलम्बियाको उत्तरपश्चिम तथा पानामाको सिमानामा पर्ने एन्टिओकुवा प्रान्तको ग्रामीण क्षेत्रबाट पक्राउ गरिएको हो।
घटनाको सबै जानकारी बाहिर आउन बाँकी नै रहे पनि सो अपरेसनमा एकजना प्रहरी अधिकृतको मृत्यु भएको पनि राष्ट्रपति डुक्वेले बताएका छन्। कोलम्बियाको आर्मीले हतकडी लगाइएको ओटोनियलको तस्बिर पनि सार्वजनिक गरेको छ। विगत केही वर्षयता ५० वर्षीय ओटोनियललाई पक्राउ गर्नका लागि निकै ठूला मिसनहरू चलाइएको थियो। तर, ती प्रयासहरू असफल भएका थिए।