गृहपृष्ठ Featured राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतदाता भेट्दै उम्मेदवार

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मतदाता भेट्दै उम्मेदवार

प्रकाशित मिति:

दाङ : राष्ट्रियसभा निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा उम्मेदवारहरुले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । माघ १२ गते हुन थालेको निर्वाचनका लागि उम्मेदवारहरु प्रदेशका विभिन्न जिल्ला–जिल्लामा पुगेर मतदातासँग भेटघाट गर्दै भोट मागिरहेका छन् ।

शुक्रवार पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले दाङको घोराही आएर मतदातासँग भेटघाट गरेका छन्। नेपाली कांग्रेस, नेकपा ९माओवादी० केन्द्र, एकीकृत समाजावदी, राष्ट्रिय जनमोर्चा र जसपा पार्टीका तर्फबाट लुम्बिनी प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारहरु बनेका युवराज शर्मा, राजेन्द्रलक्ष्मी गैरे र तुलप्रसाद विश्वकर्माले मतदातासँग भेटघाट गरेर आगामी निर्वाचनमा आफूहरुलाई जिताउन आग्रह गरेका छन्।

राष्ट्रियसभा निर्वाचन प्रसार–प्रसार समितिको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संविधान र प्राप्त उपलब्धिको रक्षा गर्दै देशको विकासका लागि आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गरेका थिए । उनीहरुले देशलाई अप्ठ्यारो परिस्थितिबाट निकास दिँदै विकासको कामलाई अघि बढाउन गठबन्धनको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

उनीहरुले लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवारहरुको विजय निश्चित भएको भन्दै परिणाम घोषणा हुनमात्र बाँकी रहेको बताए । कार्यक्रममा विभिन्न पालिकाका अध्यक्ष, उपाध्यक्षसँगै पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

लुम्बिनीमा गठबन्धन बलियो
लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन बलियो छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २ सय ९६ हो । प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन् । जसमा प्रदेश सांसद ८१ जना छन् भने स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २ सय १५ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । ८१ प्रदेशसभा सदस्यको मतभार कुल ३ हजार ८ सय ८८, स्थानीय तहतर्फको कुल मतभार ३ हजार ८ सय ७० गरी प्रदेशको कुल मतभार ७ हजार ७ सय ५८ हुने छ ।

जसमध्ये प्रदेशसभा सदस्यमा गठबन्धनका नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनता समाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादी पार्टीका १ जना सांसद छन् । जसको कुल मतभार २१ सय १२ हुन्छ । स्थानीय तहतर्फ कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख छन् ।

गठबन्धनको स्थानीय तहतर्फको कुल मतभार २ हजार १ एक ७८ हुन्छ । प्रदेशसभा र स्थानीय तह दुवैतर्फ गरी जम्मा लुम्बिनीमा गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० छ । त्यसैगरेर एमालेको प्रदेशसभामा ३६ र स्थानीय तहतर्फ ८८ प्रमुख तथा उपप्रमुख छन् । जसमा प्रदेशसभातर्फको मतभार १ हजार ७ सय २८ र स्थानीय तहतर्फको मतभार १ हजार ५ सय ८४ गरि जम्मा एमालेको लुम्बिनी प्रदेशमा कुल मतभार ३ हजार ३ सय १२ रहेको छ । यस आधारमा सत्तारुढ गठबन्धन ९ सय ७८ मतभारले एमालेभन्दा अघि छ ।

लुम्बिनीमा प्रदेशसभा सदस्यमा एक र स्थानीय तहमा ४ मत स्वतन्त्रतर्फको रहेको छ । स्वतन्त्रतर्फको कुल मतभार १ सय २० रहेको प्रदेश निर्वााचन कार्यालयले जनाएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिकले उम्मेदवारी मनोनयन गरेका छन् ।

एमालेका रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिकले उम्मेदवारी दिएका छन्। प्रदेशमा अन्य, महिला र दलित तर्फका एक÷एक गरी तीन सिटका लागि निर्वाचन हुँदैछ । तीन सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित् समाचार