वैखरी अनलाईन : कपिलवस्तुका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।
गत वर्ष प्रतिमेट्रिकटन २५ हजार रुपैयाँमा खरिद गरिएको कोइलाको लागत यस वर्ष ४५ हजार रुपैयाँ पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ८० वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको नेपाल इँटा उद्योग महासंघ लुम्बिनी प्रदेश महासचिव तथा कपिलवस्तु इँटा उद्योग सङ्घका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भूसालले बताए ।
उनले प्राकृतिक प्रकोपका साथै बेमौसमी वर्षातले इँटा उद्योगलाई असर पारेको जानकारी दिए । उनले भने, ‘इँटा उद्योगमा ६० प्रतिशत कोइलामा मात्र खर्च हुने गर्छ । नेपाली इँटा व्यवसायीले गुणस्तरहीन कोइला पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने हुँदा आउने एक याम पछि इँटा उद्योग बन्द गर्ने मनसायमा इँटा उद्योगी पुगेका हुन् ।’
जिल्लामा करिब १०७ वटा इँटा उद्योग दर्ता भए पनि हाल ८० वटा सञ्चालनमा आएका छन् । पछिल्लो समय डिजेलमा भएको मूल्यवृद्धिका कारण कोइला ढुवानी खर्च बढ्नाका साथै सोचेअनुसार इँटाको माग नहुँदा सञ्चालित इँटा उद्योगसमेत बिक्री तथा बन्द हुने अवस्थामा पुगेको कपिलवस्तु इँटा संघका महासचिव नेत्र पाण्डेले बताए ।
त्यस्तै कपिलवस्तु इँटा संघका कोषाध्यक्ष विनोद पन्तले इँटा व्यवसायीका विषयमा सरकारको ध्यान नपुगेको बताउँदै संघद्धारा उद्योग मन्त्रालयको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको बताए । उनले वैकल्पिक ईन्धनमा नेपाल सरकारले सहजीकरण गर्नुपर्ने बताए । उद्योग मैत्री निति बनाई उद्योग बचाउनुपर्नेमा उनको जोड छ । नेपाल आफैमा इँटामा आत्मनिर्भर रहेको बताउँदै उनले बुद्धकालीन अवस्थादेखि नै इँटाको प्रयोग हुदैं आएकाले भौतिक संरचना निर्माणमा इँटाको प्रयोग गर्नुपर्ने उनले बताए ।
कपिलवस्तुमा उत्पादित इँटा लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित अन्य प्रदेशमा पनि पुग्ने गरेको छ ।