गृहपृष्ठ खबर ‘पार्टीले टिकट दिए कपिलवस्तु प्रतिनिधिसभा १ मा चुनाव लड्छु’ ः बलदेव

‘पार्टीले टिकट दिए कपिलवस्तु प्रतिनिधिसभा १ मा चुनाव लड्छु’ ः बलदेव

प्रकाशित मिति:

नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणी खनाल ‘बलदेव’ ले आसन्न मंसीर ४ को निर्वाचनबारे प्रतिक्रिया दिएका छन् ।

कपिलवस्तुको प्रतिनिधिसभा-१ का सांसद समेत रहेका खनालले पुनः आसन्न चुनावमा उम्मेद्वार बन्ने आशय व्यक्त गरेका हुन् ।

आसन्न चुनावको उम्मेद्वारीबारे  प्रश्नमा खनालले भने, ‘चुनावमा उठ्ने कुरा लगभग पक्का हो । तर हाम्रो पार्टीको आफ्नै सिष्टम छ । अहिलेनै चुनावमा उठि हाल्छु भनेर भन्न मिल्दैन् । पार्टी कमिटीले मलाई टिकट दिन्छ कि दिन्न ! अरु कुनै कमरेड लड्ने हुन कि ! यसै भन्न त सकिदैन् नि !’

प्रतिनिधिसभा-१ मा पुनः चुनाव लड्ने सम्भावनाबारे खनालले नकार्न सकेनन् ।

०७४ सालको चुनावमा बामगठबन्धनबाट खनालले चुनाव जितेका थिए । उनले नेपाली कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायलाई हराएका थिए ।

०७० को दोस्रो संविधानसभाको चुनावमा नेकपा (एमाले)का बलराम अधिकारीसंग पराजित भएका खनालले ०७४ मा कांग्रेसका उपाध्यायलाई ९ सय ४६ मतका साथ पराजित गरेका थिए ।

खनालले त्यो चुनावमा २९ हजार ६ सय ९३ मत पाएका थिए भने उपाध्यायले २८ हजार ७ सय ४७ मत ल्याएका थिए ।

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिकाका केही वडा पर्दछन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीले यस क्षेत्रको बाणगंगा बाहेक अरु पालिकामा एकल चुनावी प्रतिस्पर्धा गरेको थियो । जसमा शुद्धोधन गाउँपालिकामा उपाध्यक्षसहित १ वडामा माओवादीले विजयी हासिल गर्न सफल भयो भने मायादेवी गाउँपालिकाका ३ वडामा चुनाव जित्न सफल भएको छ । बाणगंगा नगरपालिकामा भने नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) संग माओवादीले चुनावी तालमेल गरेको थियो ।

बाणगंगाका ११ वडा मध्ये एक वडा माओवादीले जितेको छ ।

आसन्न चुनावमा केन्द्रीयस्तरमा रहेको ५ दलिय गठबन्धन बीच चुनावी तालमेल हुने लगभग पक्का छ । त्यो भयो भने खनालले यो क्षेत्र पाउने बलियो सम्भावना छ । कांग्रेसबाट यसै क्षेत्रमा दीपकुमार उपाध्याय र अतहर कमालले चुनाव लड्ने इच्छा राखेका छन् । यद्यपि उपाध्यायले मायादेवी अनलाइनसंग यो क्षेत्रमा चुनाव लड्नेबारे खुलेरै प्रतिक्रिया दिएनन् । चुनावमा उठ्ने कुरा केन्द्रस्तरको गठबन्धनमा भर पर्ने बताए । कमालले पनि यहीँ कुरा राख्ने गरेका छन् ।

तीन प्रतिनिधिसभा मध्ये १ बाहेक अन्य दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले गठबन्धनबाट टिकट पाउने पक्कापक्की छ । त्यसो भयो भने क्षेत्र नं. १ माओवादीले कांग्रेसलाई त्यसै छाड्ने स्थिति आउँदैन् ।

चुनाव जितेको क्षेत्र र त्यसमा पनि खनाल जत्तिको माओवादीको प्रभावशाली नेता अरु निर्वाचन क्षेत्रमा छैनन् ।

५ दलिय गठबन्धन भएकोखण्डमा खनाल यो निर्वाचन क्षेत्रका बलिया उम्मेद्वार रहनेछन् । कांग्रेसको दरिलो साथ, दक्षिणी क्षेत्रमा जसपा र एकीकृत समाजवादीको राम्रो जनमत रहदा खनाललाई झनै बलियो बनाउने छ ।

सम्बन्धित् समाचार