वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिका वडा नम्बर ४ ले गरिब, विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । वडाभित्र रहेका ७ वटा टोलका करिब एक सय बढि घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको हो । गरिब, विपन्न परिवारका सदस्यलाई मेयर चक्रपाणी अर्याल, वडाध्यक्ष छविरेस्मी मगरसहित वडाका जनप्रतिनिधिहरुले एकएक वटा ब्लाङकेट, तन्ना र सिरानी वितरण गरेका हुन् ।

न्यानो कपडा पाएपछि उनीहरुले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि गरिब, विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको सुखदुखमा साथ दिन आग्रह गरे । मेयर अर्यालले बढ्दो जाडोबाट वडावासीलाई बचाउन वडाले न्यानो कपडा वितरण गरेर स्थानीय सरकार भएको अनभूति दिलाएको बताए । उनले वडा नम्बर ४ विगतमा भन्दा पछिल्लो समय सबै पक्ष अग्रस्थानमा रहेको भन्दै खुशी व्यक्त गरे ।

वडाध्यक्ष छविरेस्मी मगरले वडावासीको आवश्यकता र चाहनालाई बुझेर यो जाडोबाट बचाउन न्यानो कपडा वितरण गरिएको बताए ।
उनले शितलहरसंगै बढेको जाडोले विशेष गरि गरिब, विपन्न परिवारहरुलाई असर गरेकाले केही राहत मिलोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको उनको भनाई छ । बढ्दो जाडोले कठ्याङरिएर ज्यान जान सक्ने सम्भावनालाई समेत आफुले ध्यानमा राखेको बताउँदै उनले भने, ‘वडा नम्बर ४ भित्रका कुनै पनि व्यक्ति जाडोले कठ्याङरिएर मर्नु पर्दैन् । जो कोहीलाई समस्या पर्छ, मलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ ।’
नागरिकको बाँच्न पाउने अधिकार वडाले सुनिश्चित गर्ने उनले दाबी गरे । लगातार चिसो बढ्दै गएकाले आफुसंगै आफ्ना घरपरिवारका अन्य सदस्यको विशेष ध्यान वडाध्यक्ष रेस्मीले आग्रह समेत गरे ।
वडा सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा टोल विकास समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।







