गृहपृष्ठ खबर हालको उपलब्धिबाट हामी नै सन्तुष्ट छैनौं : मेयर अर्याल

हालको उपलब्धिबाट हामी नै सन्तुष्ट छैनौं : मेयर अर्याल

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरको हालको उपलब्धिबाट आफु स्वयम् सन्तुष्ट नरहेको बताएका छन् । आफुहरुले उपलब्धि देखिने गरि सक्रियता देखाए पनि विभिन्न कानुनी जटिलता, स्रोत साधनको अभाव लगायतका कारणले काम गर्न असहज भएको उनको भनाई छ ।

बुधबार भएको नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ गर्दै उनले भने, ‘हामी नै हाम्रा काम कारबाही तथा हालको उपलब्धिबाट सन्तुष्ट छैनौं । नगरबासी हुने त कुरै भएन ।’

फोहोरमैला व्यवस्थापन, छाडा पशुचौपयाको व्यवस्थापन जस्ता समस्याको समाधानका लागी आफु निरन्तर रुपमा गम्भिर भएर लागेको उनको दाबी छ । हालै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको प्रतिवेदनमा बाणगंगा नगरपालिकाको ५५.४७ प्रतिशत मात्र अंक देखिएकोमा उनले आपत्ती समेत जनाए ।

केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीसंगको भेटमा बाणगंगा नगरपालिकाकाले ८२.५ प्रतिशत अंक ल्याएको भन्दै उनीहरुले बधाई दिएको मेयर अर्यालले सुनाए । उनले यस सम्बन्धमा थप खोज गरि पुष्टि गरिने बताए ।
केही दिन अघि मात्र जिल्लाको महाराजगंजले ६८ दशमलव ६७ अंक प्राप्त गरी कपिलवस्तुका १० पालिकामध्ये उत्कृष्ट भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको थियो ।

अहिले युवाहरुको ठूलो पंक्ति लागु पदार्थ दुव्र्यशनीमा फसेकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘यसको नियन्त्रण गर्न नगरपालिकाले ठूलो बजेट विनियोजन गरि विभिन्न कार्यक्रम गरेको छ । यसप्रति नगरपालिका गम्भिर भएर लागेको छ ।’

उनले लागु पदार्थ बेचविखनकर्ताको बिगबिगीलाई कम गरि स्थानीय सरकार र सरोकारवाला सबै निकाय एकतावद्ध भएर मात्र लागु पदार्थ दुव्र्यशनी नियन्त्रण गर्न सकिने बताए ।

कार्यक्रममा उपमेयर रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल लगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रम नगरपालिकाको आयोजना र पत्रकार महासंघ कपिलवस्तुको सहजीकरणमा कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार