कपिलवस्तुको बाणगंगा नगरपालिकाले शैक्षिक पुर्वाधार तर्फ नगरका विभिन्न २२ वटा सामुदायिक विद्यालयहरुलाई ७२ लाख रुपैया प्रदान गर्ने निर्णय गरेको छ । आज शुक्रवार बसेको नगरको १३० औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता तथा वडा नम्बर दुईका वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
त्यस्तै भौतिक पुर्वाधार तर्फ लागत सहभागिताको नगरका ११ वटै वडामा २ करोड रुपैयाँ बाडफाँड गरिएको छ । त्यस्तै सामुदायिक भवन तर्फको १५ लाख रुपैयाँ नगरका विभिन्न ६ वटा समुदायिक भवन निर्माणको लागि बाँडफाडा गरिएको छ ।
यसैबिच रोजगारीको हक सम्बन्धी स्थानिय रोजगार निर्देशक समितिको गठन गरिएको छ । जसको अध्यक्षमा नगर प्रमुख चक्रपाणी अर्याल रहनुभएको छ भने सदस्यहरुमा उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारु मगर र सदस्य सचिवमा नगर रोजगार विभागका संयोजक किशोर थारु रहनुभएको छ ।
नगरको १३० औं कार्यपालिका बौठक नगर अध्यक्ष चक्रपाणी अर्यालको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको संचालनमा सम्पन्न भएको हो ।