सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रहरीकै सेटिङ्गमा नदीजन्य पदार्थको दोहन भएको खुलेको छ । बाणगंगा नगरपालिका- १ उत्तमनगर क्षेत्रबाट रातको समयमा नदीजन्य पदार्थ अवैध रुपमा दोहन भएको हो । यही आईतबार र सोमबार राति नदीजन्य पदार्थको दोहन भएको खबर स्थानीयले मिडियामा भने पछि अहिले यस विषयले चर्चा पाएको छ ।
मंगलबार ईलाका प्रहरी कार्यालय पिपरा र शसस्त्र प्रहरीको कार्यालयसंगको सेटिङ्गमा नदीजन्य पदार्थको दोहन भएको उत्तरनगरका एक स्थानीयले नाम नखुलाउने सर्तमा वैखरीलाई बताए । नदीजन्य पदार्थको दोहनमा प्रयोग भएका ट्याक्टरहरुले आवाजले रातभर आरामसंग सुत्न नपाएको स्थानीयले बताएका छन् ।
नदीमा अवैध दोहन रोक्न रात्रिकालीन गस्तीमा खटिएका वनका कर्मचारीलाई ट्याक्टरका ड्राईभरले सेटिङ्गमा काम भएको भन्दै दोहनको क्रममा अवरोध गरे सरुवाको चेतावनी दिएको वनका कर्मचारीले नाम नखुलाउने सर्तमा वैखरीलाई बताए ।
नेपाल किसान ट्याक्टर समितिका पदाधिकारीकै नेतृत्वमा उक्त अवैध काम भएको समेत खुल्न आएको छ । स्थानीय ट्याक्टर व्यवसायीहरुले प्रति ट्याक्टर जनपथ प्रहरीलाई ३ हजार, शसस्त्र प्रहरीलाई २ हजार ५ सय र सिआईडीलाई एक हजारका दरले पैसा दिने गरेको बताएका छन् । दैनिक रुपमा ७ देखि ९ वटा ट्याक्टरहरु दोहनका लागी प्रयोग हुने गरेको बताईएको छ ।
यता ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख कोसिस बाबु जोशीले आफुलाई यस विषयमा कुनै जानकारी नभएको बताउँदै भने, ‘मलाई केही थाहा छैन् । अब बुझ्छु ।’
यस्तै शसस्त्र प्रहरी ब्यास क्याम्प पिपराका डिएसपी प्रेम कठायतले यस विषयमा बुझ्न बारम्बार फोन गर्दा समेत उठाएनन् ।
यता नगर प्रमुख चक्रपाणी अर्यालले आफु यस विषयमा अनविज्ञ रहेको बताउँदै भने, ‘मलाई यस विषयमा जानकारी भएन् । यदि त्यस्तो हो भने तत्काल रोक्नका लागी नगर प्रतिवद्ध छ । नगर प्रहरीसहितका प्रहरीलाई खटाईने छ ।’
बाणगंगा नगरपालिकाले केही महिना अघि मात्र नगर प्रहरी भर्ना गरेको छ तर यसरी अवैध रुपमा नदीजन्य पदार्थको दोहन रोक्न नसक्नुले उनीहरुको भर्नामाथि नै प्रश्न खडा भएको भन्दै जनस्तरमा आलोचना सुरु भएको छ ।