सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एक बर्षमा ७.१३ किलोमिटर सडक कालोपत्रे गरेको छ । भौतिक पुर्वाधारतर्फ नगरपालिकाले एक बर्षको अवधिमा ७.१३ किलोमिटर सडक कालोपत्रे गरेको नगरप्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार १२.८९ किलोमिटर सडक ग्राभेल, ७.३७ किलोमिटर सडक पिसिसि भएको छ ।
नगरप्रमुख श्रेष्ठले शुक्रबार आर्थिक बर्ष २०७९/८० को नगरस्तरिय बार्षिक समिक्षा कार्यक्रममा .यस्तोबारे जानकारी दिएका हुन् । ५.२६ किलोमिटर नाली र ६.८६ किलोमिटर सिंचाई कुलो निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए । उनले धार्मिक मठमन्दिरको संरचना तथा निर्माणतर्फ ४२ वटा काम भएको जानकारी दिदैं छाडाचौपयाको व्यवस्थापनको लागी ३ किलोमिटर तारबार गरिएको बताए ।
गत बर्षका २ वटा योजनालाई यस आर्थिक बर्ष समेत निरन्तरता दिनुपर्ने बाध्यता भएको बताउँदै उनले भने, ‘टेण्डर भएको भेलाई(पुरेना(गोरुसिंगे(बक्डेरिया सडक योजनामा ठेकेदार दुर्घटनामा परेकाले समयमै सम्पन्न गर्न सकिएन् । त्यसैले सोही सम्झौतालाई म्याद थप गरेर यही भदौसम्म सम्पन्न गर्ने भनेर लागेका छौं ।’
वडा नम्बर ७ मा निर्माणाधिन मानपुर स्वास्थ्य चौकीको काम टेण्डरको ढिलाईका कारण सम्पन्न नभएकाले यस आर्थिक बर्षमा निरन्तरता दिएको उनले प्रष्ट पारे । गौरवको आयोजनाका रुपमा रहेको १५ शय्याको अस्पतालको निर्माणको काम यसै आर्थिक बर्षमा सक्ने गरि तीब्र रुपमा काम भएको उनले जानकारी दिए ।
हुलाकी राजमार्गसंग जोडिने टिक्कर( बुड्ढी(विजगौरी सडकलाई समेत नगरपालिकाले गौरवको योजनाका रुपले लिएको उनले बताए । त्यसका लागी प्रदेश र केन्द्र सरकारसंग थप बजेटको लागी पहल र प्रयास भईरहेको उनको भनाई छ ।
उनले बुड्ढी ताल बाह्य पर्यटक भित्राउन ठूलो आन्तरिक स्रोतका रुपमा रहेको बताए । बुड्ढी तालले नगरपालिकाको पहिचान कायम गर्ने जिकीर गदैं उनले भने, ‘व्यापक रुपमा डिपिआर अनुसार त्यहाँ बन्ने पुर्वाधारलाई सम्पन्न गरि संचालन गर्नको लागी सुचना आह्वान गरेर निजि क्षेत्रलाई २५/३० बर्षको लागी लिजमा उपलब्ध गराउने निर्णय भएको छ । यसको कार्यान्वयनको लागी लागिरहेका छौं ।’
उक्त कार्यक्रममा वडा कार्यालयसंगै नगरपालिका हरेक शाखाले आर्थिक बर्ष २०७९/८० को प्रगति विवरण प्रस्तुत गरेका थिए ।