गृहपृष्ठ खबर कपिलवस्तुका ६ पालिकाका एक सय बढी अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर वितरण

कपिलवस्तुका ६ पालिकाका एक सय बढी अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर वितरण

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुमा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण गरिएको छ । शनिबार जिल्लाको बुद्धभूमि नगरपालिका- ४ बुड्ढी हनुमानचोकमा आयोजित एक कार्यक्रमकाबीच ह्वील चियर वितरण गरिएको हो ।

जिल्लाका ६ पालिका (बुद्धभूमि, कपिलवस्तु, महाराजगंज, शिवराज, कृष्णनगर र यशोधरा) का एक सय १८ जना भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण गरिएको आयोजक बाल अपाङ्ग टेवा संस्थाले जनाएको छ । उक्त ह्वील चियर वितरण कार्यक्रमको मुख्य दाता  डिजेएच रहेको छ ।

नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले ह्वील चियर हस्तान्तरण गर्दै अपाङ्गतामैत्री संरचना निर्माणमा ध्यान दिन आवश्यक रहेको बताए ।

विशेषः सार्वजनिक स्थाल निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई महसुस गरि गम्भिर भएर पुर्वाधारको बनोट तयार गर्नुपर्ने उनको भनाई छ । उनले अबको केही दिनमै देशका ७५३ वटै स्थानीय तहमा अपाङ्गमैत्री भौतिक संरचनाको निर्माणका लागी सर्कुलर जारी गर्न लागेको समेत बताए ।

अपाङ्गता भएका व्यक्तिहरु समाजको महत्वपुर्ण सदस्य भएको बताउँदै उनले भने, ‘उनीहरुलाई आवश्यकता र क्षमताको आधारमा रोजगारीमा जोड्दै जानुपर्छ । जसले आत्मनिर्भर बन्न सहयोग मिल्ने छ ।’ समाज रुपान्तरणमा अपाङ्गता भएका व्यक्तिहरुले महत्वपुर्ण भूमिका खेलिरहेको उनको भनाई छ । उनले शारिरिक रुपमा अशक्त भई हिडडुल गर्न समस्या भएकाहरुको ह्वील चियर सहायताले जीवनशैली नै परिवर्तन हुने बताए ।

उनले जिल्लामा ह्वील चियर मर्मत केन्द्रको स्थापना गर्न आवश्यक रहेको बताउँदै मन्त्रालयबाट त्यसका लागी थप पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले अपाङ्गता भएका नागरिकको जीवनस्तर उकास्न स्थानीय सरकारले ध्यान दिईरहेको दाबी गरे । उनले बुद्धभूमिमा बन्ने हरेक पुर्वाधारहरु अपाङ्गतामैत्री बनाउने तयारीमा आफु लागेको जिकीर गरे ।

बाल अपाङ्ग टेवा संस्थाका सस्थापक अध्यक्ष डेण्डी शेर्पाले अपाङ्ता भएकालाई राज्यले विभेद गर्न नहुने बताउँदै स्थानीय सरकारले पनि अपाङ्गतामैत्री पुर्वाधारमा जोड दिनुपर्ने बताए । उनले कपिलवस्तुमा आफ्नो संस्थाले विगतदेखि नै सामाजिक क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले स्वागत मन्तव्य राखेका थिए ।

ह्वील चियर पाएपछि अपाङ्गता भएकाहरुले आफुहरुको दैनिकी संचालनमा सहजता थपिने भन्दै खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित् समाचार