वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार वडा कार्यालयले प्रेमनगर बजार क्षेत्रमा सरसफाई गरेको हो । वडाका जनप्रतिनिधि, राजपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेवीका, प्रहरी र स्थानीयको सहभागितामा सरसफाई कार्यक्रम गरिएको वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले बताए ।
पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएकाले लामखुट्टे हुन सक्ने सम्भावित क्षेत्रहरुलाई लक्षित गरि सरसफाई गरेको उनले बताए । वडाध्यक्ष थापाले बुद्धभूमि नगरपालिकामै डेंगुको संक्रमणलाई मध्येनजर गर्दै सरसफाई कार्यक्रम गर्ने वडा नम्बर ५ पहिलो वडा भएको दाबी गरे ।
उनले स्वास्थ्य नै मानिसको सबै भन्दा ठूलो धन भएकाले यसप्रति सबै सचेत हुनुपर्ने बताए ।
त्यसका लागी विभिन्न प्रकारका संक्रामक रोगहरुको आक्रमणबाट बच्ने गतिविधिहरु संचालन गर्दै स्वास्थ्य जीवनशैली बनाउन उनले आग्रह गरे । यस्ता कार्यक्रमलाई वडाले निरन्तर रुपमा अघि बढाउँदै जाने प्रतिवद्धता जनाउँदै उनले भने, ‘वडालाई सुन्दर वडाको रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो । त्यसैले सबै वडावासी सचेत हुनुपर्छ । यो कार्यक्रमले वडावासीमा सचेतना जगाउन मद्दत गर्छ भन्ने विश्वास छ ।’
वडाध्यक्ष थापाले फोहोरलाई हरेक वडावासीले आफै सचेत भएर व्यवस्थापन गर्नुपर्ने बताए । वडाका हरेक सार्वजनिक स्थानलाई सौन्र्दकरणक गर्दै वडालाई सफा र हरियाली बनाउने बताए ।
उनले वडाले सरसफाईलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।