वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा गठित छाडा पशुचौपया व्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद पौडेलले छाडा पशुचौपयाको समस्या सबैको साँझा समस्या भएको बताएका छन् । छाडा पशुचौपया व्यवस्थापनको विषय विगतदेखि नै चुनौतिका रुपमा रहदैं आएकाले यसको समाधान सबैको साँझा प्रसासबाट मात्र सम्झव भएको उनको भनाई छ ।
बुधबार नगरपालिकाले आयोजना गरेको वन उपभोक्ता समूहका पदाधिकारीहरुसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नगर प्रवक्ता तथा वडा नं.२ का वडाध्यक्ष समेत रहेका पौडेलले अब दशै लगत्तै नगरपालिकाभित्र भएका पशुहरुको संख्याको तथ्याङ्क संकलन गर्ने कामको थालनी हुने बताए ।
सो तथ्याङ्क संकलनको क्रममा पशुहरुलाई ट्यागिङ गरिने उनले जानकारी दिए । जसले गर्दा सडकमा छाडेका पशुहरु कसको हो भन्ने सजिलै पत्ता लगाउँन सकिने उनको भनाइ छ । उनले छाडा चौपयाको समस्या समाधान गर्न नगरभित्रका सम्पुर्ण सामुदायिक वनको सकारात्मक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले हालसम्म नगरपालिकाले छाडापशुचौपया नियन्त्रणको क्षेत्रमा गरेका प्रयासको बारेमा चर्चा गर्दै भने, ‘यो समस्या जिल्लाका अन्य पालिकामा पनि विकराल बन्दै गएको छ । सर्वप्रथम बाणगंगाले यसको समाधान गरेर उदाहरणीय बन्ने दिशातर्फ हामी गईरहेका छौं ।’