गृहपृष्ठ खबर ‘विद्यालय क्षेत्रमा सोझै राजनितिक प्रभावमा काम गर्नेलाई कारबाही गछौं’

‘विद्यालय क्षेत्रमा सोझै राजनितिक प्रभावमा काम गर्नेलाई कारबाही गछौं’

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले विद्यालय क्षेत्रभित्र सोझै राजनितिक प्रभावमा काम गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । विद्यालय क्षेत्रमा हुने अधिक राजनितिलाई कम गर्न आफुले पहल गर्दै आएको बताउँदै उनले भने, ‘विद्यालय क्षेत्रमा सोझै राजनिति गर्नेलाई कारबाही गछौं । हाम्रो नगरभित्र त्यस्तो भएको पनि छैन् र हामी हुन पनि दिदैनौं ।’

विहिबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदैं नगरप्रमुख अर्यालले यस्तो बताएक हुन् । उनले शिक्षामा गुणस्तरियता कायम गर्दै शैक्षिक उपलब्धिलाई वृद्धि गर्न नगरपालिकाले ल्यापटप वितरणदेखि भौतिक निर्माणका कामलाई प्राथमिकता दिएको बताए । उनले बाणगंगा नगरपालिकाका ११ वटा आधारभूत स्वास्थ्य केन्द्र र पिपरा अस्पतालमा औषधी नभएको भन्ने विषयमा कुनै सत्यता नरहेको बताए । उनले कुनै पनि औषधीको अभाव नभएको दाबी गरे ।

ठेकेदार पक्षले नदीलाई आवश्यक भन्दा बढी उत्खनन् गर्ने परिपाटीलाई रोक्न नगरपालिकाले निरन्तर अनुगमन गर्दै आएको उनले बताए । मेयर अर्यालले फोहोरमैला व्यवस्थापनका लागी नगरपालिकाले अल्पकालीन समाधानको उपायका रुपमा अहिले काम गरिरहेको बताए । फोहोरमैला व्यवस्थापनका सवालमा नगरवासीबाट कुनै पनि गुनासो नआएको बताउँदै उनले भने, ‘यो दीर्घकालीन समाधानको उपाय हो भनेर हामीले भनेका छैनौं ।’

उनले किसानहरुका लागी मलको अभाव हुनु बाणगंगा नगरपालिकावासीको मात्र नभएर देशव्यापी समस्या नै भएको बताए । नगरपालिकाले अनुमान गरेर मलको माग गर्ने गरेको तर मागको करिब २१ प्रतिशत मात्र मल प्राप्त हुने गरेको उनले सुनाए । उनले सुधार गर्नुपर्ने विषय कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाए । जहाँ जहिले पनि समस्या, सल्लाह र सुझाव आफुलाई दिन सक्ने उनले स्पष्ट पारे ।

बाणगंगा नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले वडा नं.२ का केही गाउँमा सडक निर्माण तथा कालोपत्रेको काम नभएको भन्ने विषयमा कुनै सत्यता नरहेको बतए । उनले विगतमा भन्दा तुलनात्मक रुपमा अहिले सडक पुर्वाधार निर्माणको काम तीब्र गतिमा भएको स्पष्ट पारे । उनले नगरदेखि प्रदेश र संघ सरकारसम्म आफ्नो निरन्तरको संक्रियतापछि वडामा प्राथमिकता साथ विकास भईरहेको बताए । वडाध्यक्ष पौडेलले सिंचाईका लागी आवश्यक पाईपको व्यवस्था यसै बर्ष गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरका कामकारबाही, उपलब्धि तथा गतिविधिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, फोहोरमैला व्यवस्थापन, कृषि, सिंचाई लगायतका विषयमा प्रश्न उठान भएका थिए ।
कार्यक्रममा सहभागीहरुको प्रश्नहरुमा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल र लेसबहादुर केसीले समेत जवाफ दिएका थिए ।

कार्यक्रममा पत्रकार दिपक अनुरागीले नागरिक र बहिर्गमन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्वासेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा नगरउपप्रमुख रिता कुमारी चौधरी, ११ वटै वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि, शाखा प्रमुखसहितका कर्मचारी, सरोकारवाला निकाय, संचारकर्मी र नगरवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार