गृहपृष्ठ खबर श्रृङ्गीघाट वनको विपन्न परिवारलाई उपहार ‘स्वास्थ्य विमा कार्यक्रम’

श्रृङ्गीघाट वनको विपन्न परिवारलाई उपहार ‘स्वास्थ्य विमा कार्यक्रम’

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नं.१, ३, ४ र ५ मा अवस्थित श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समितिले अति विपन्न परिवारलाई लक्षित गरि निशुल्क स्वास्थ्य विमा कार्यक्रम ल्याएको छ । आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार वनले यो कार्यक्रम ल्याएको हो । यो कार्यक्रम सम्भवतः नेपालमै पहिलो पटक वनले गरेका कार्यक्रम हो ।

विपन्न नागरिकको स्वास्थ्य उपचार सेवामा पहुँच बढाउँन वनले एक सय जना गरिब, विपन्न परिवारको स्वास्थ्य विमा गरिदिएको वनकी सचिव सुष्मा खाँणले बताईन् । आर्थिक रुपमा गरिब भएका मानिसलाई उपचारको एकमात्र माध्यमको रुपमा स्वास्थ्य बीमा कार्यक्रम महत्वपूर्ण सावित भएकाले यो कार्यक्रम वनले कार्यान्वयमा ल्याएको उनको भनाई छ ।

वनका अध्यक्ष सुसिल सिंह ठकुरीले चिकित्सक र अस्पतालको मुख नदेखेका गरिब, विपन्न परिवारलाई बीमा कार्यक्रममार्फत जोड्ने उद्देश्य स्वरुप यो कार्यक्रम ल्याएको स्पष्ट पारे । उनले विपन्न परिवारका सदस्यहरुले पनि अब स्वास्थ्य विमामार्फत सहज रुपमा उपचार सेवा प्राप्त गर्ने बताए । अध्यक्ष ठकुरीले गरिबी, आर्थिक हैसियत कम भएका मानिसले उपचार गर्ने एक माध्यमको रुपमा स्वास्थ्य बीमा कार्यक्रम स्थापित भएकाले मुख्यतः विपन्न परिवारका लागी यो कार्यक्रम ल्याईएको बताए ।

उनले अब कोही पनि पैसाको अभावमा रोग लुकाएर बस्नु नपर्ने बताए । बिमितले जसरी पनि एक लाखको उपचार गर्नुपर्दछ भन्ने विमितको गलत बुझाइ रहेकाले यो बुझाई बदल्न आवश्यक रहेको उनले बताए । उनले आफूले उपचार नगर्दा मेरो सहयोगले अरुले उपचार सेवा पाइरहेको हुन्छ भन्ने कुरा नबुझेको हुनाले समस्या रहेको बताए ।

बाणगंगा नगरपालिका वडा नं।४ का अध्यक्ष छविलाल रेस्मीमगरले हरेक वर्गका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य विमा कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भौतिक पूर्वाधार निर्माणका लागी वडामा धेरै व्यक्तिहरु धाउने गरेको तर शिक्षा, स्वास्थ्य जस्ता संवेदनशील र महत्वपूर्ण क्षेत्रको सुधारको लागी कोही पनि आउने नगरेको गुनासो गरे ।

सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउन यस्ता कार्यक्रमले सहयोग गर्ने उनको भनाई छ । उनले विपन्न परिवारका नागरिकलाई यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँच प्राप्त गर्नेतर्फ अग्रसर बनाउँने बताए ।

बाणगंगा नगरपालिका वडा नं.१ का वडाध्यक्ष सन्जुकुमार सारु, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतका वक्ताहरुले धनीले गरिबलाई, हुनेले नहुनेलाई उपचारमा सहयोग गर्ने उद्देश्यका साथ स्वास्थ्य बीमा कार्यक्रम आएको बताएका थिए । उनीहरुले वनले ल्याएको यो कार्यक्रमले विपन्न परिवारका सदस्य आर्थिक अवस्था कमजोर भएकै कारण स्वास्थ्य उपचारबाट बञ्चित हुनुपर्ने स्थितिको अन्त्य हुने बताए । उनीहरुले बाणगंगा नगरपालिकाभित्र रहेका अन्य वनले पनि यस्ता कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा स्वास्थ्य विमा सहजकर्ता ठाकुर पोख्रेलले स्वास्थ्य विमा कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय रुपियाँ बराबरको योगदानको आधारमा एक लाख रुपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रति सदस्य ७०० रुपियाँका दरले योगदान रकम थपिदै जाने र प्रतिसदस्य २० हजार रुपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।

बीमा कार्यक्रमको सेवा सुविधाको सीमा दुई लाख रुपियाँसम्म तोकिएको छ ।

सम्बन्धित् समाचार