गृहपृष्ठ खबर बाणगंगामा ३ दिने कृषि मेला सम्पन्न : ३० लाखको कारोबार

बाणगंगामा ३ दिने कृषि मेला सम्पन्न : ३० लाखको कारोबार

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा भएको ३ दिने कृषि मेला सकिएको छ । उक्त कृषि मेला नेपाल बीउ मल परियोजना ‘सिमिट’ को आयोजनामा बुधबारदेखि सुरु भएको थियो ।

युएस एआइडिको सहयोग एवम् बाणगंगा नगरपालिका र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भएको उक्त ३ दिने कृषि मेलामा ३० लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार २० लाखको नगद कारोबार भएको छ भने १० लाखको अर्डरका रुपमा कारोबार भएको छ ।

मेला अवधिभर करिब ६ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।

मेलामा ४८ वटा कृषि सम्बन्धि स्टलहरु रहेका थिए ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले व्यापार घाटालाई कम गर्न व्यवसायिक कृषिमा जोड दिनुपर्ने बताएका छन् ।

हरेक किसानलाई नयाँ प्रविधिमा जोडेर कृषि उत्पादन बढाउनुपर्ने उनको भनाई छ । उनले समयको मागअनुसार आधुनिक प्राविधिको अवलम्बन गरि कृषिमा जोड दिनुपर्ने बताए । जसले आयआर्जनमा समेत वृद्धि हुने उनले बताए ।

बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले नयाँ प्रविधि र सिपलाई किसानको घरघरमा पुरयाउन कृषि मेलाले सहयोग गरेको बताईन् । बाणगंगामा आगामी दिनमा पनि यस्ता कृषि मेलालाई निरन्तरता दिन नगरपालिका प्रतिवद्ध रहेको बताईन् ।

प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाले व्यवसायिक कृषिलाई प्रोत्साहन गर्न विभिन्न अनुदानसहित साझेदारीमा कृषि उपकरण वितरण गर्दै आएको बताए ।

बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेस बहादुर के.सी.ले आधुनिक कृषि प्रणालीको विकास गर्न कृषि मेला कोशेढुङ्गा सावित हुने बताए । त्यसका लागी उन्नत प्रविधिहरुको प्रचार-प्रसारमा मेलाले टेवा पुगेको उनको भनाई छ ।

कार्यक्रमका वक्ताहरुले कृषि क्षेत्रमा भित्रिएको नयाँ प्रविधीबारे किसानलाई जानकारी गराउन मेला महत्वपूर्ण सावित भएको बताएका छन् । मेलाले कृषि उपकरणको प्रचार प्रसार, कृषिको बजारीकरण र उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित् समाचार