गृहपृष्ठ खबर गरिब तथा जेहेन्दार विधार्थीलाई श्रृङ्गीघाट सामुदायिक वनको शैक्षिक सामग्री

गरिब तथा जेहेन्दार विधार्थीलाई श्रृङ्गीघाट सामुदायिक वनको शैक्षिक सामग्री

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुकै नमुना सामुदायिक वनको रुपमा स्थापित श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । वनले बुधबार सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

आर्थिक बर्ष २०८०÷८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको वनकी सचिव कमला सेन ठकुरी ‘सुष्मा’ ले बताईन् । उनका अनुसार वनले बाणगंगा नगरपालिका ३ मा रहेको सरस्वती आधारभूत विद्यालय र वडा नं.५ मा रहेको मद्यौलिया बाल विकास केन्द्रका गरि ५० जना बढी विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यार्थीहरुलाई झोलासहित कापी, कलम र ज्यामि बक्स वितरण गरिएको उनले बताईन् । उनले यसै गरि वडा नं.१ र ४ का एक एक वटा विद्यालयका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने उनले जानकारी दिईन् । उनले श्रृङ्गीघाट सामुदायिक वनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको बताईन् । केही दिन अघि मात्र वनले गरिब विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गरि दिएको उनले स्मरण गरिन् ।

वनका अध्यक्ष गणेश सिंह ठकुरी ‘सुसिल’ ले शिक्षा क्षेत्रमा सबैको सरल र सहज पहुँच होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । अध्यक्ष ठकुरीले समाजका हरेक वर्गको शिक्षामा उल्लेख्य सहभागिता बढाउन आवश्यक रहेको बताए । शिक्षा आर्जनमा गरिब तथा विपन्न परिवारका बालबालिकाको न्युन सहभागिता रहेको अवस्थालाई परिवर्तन गर्न वनले आगामी दिनमा थप पहल गर्ने उनको भनाई छ । ‘आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा सबै वर्गको पहुँच बढाउने कार्यक्रम ल्याएर प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँछु,’ उनले भने ।

बाणगंगा नगरपालिका वडा नं.५ का अध्यक्ष दुनिका प्रसाद भुसालले आफ्नो वडाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । त्यसका लागी बर्षेनी लाखौ बजेट यी क्षेत्रमा खर्चिएको उनले सुनाए । समाजका हरेक वर्गले शिक्षा र स्वास्थ्यको सहज पहुँचको प्रत्याभूति गर्नुपर्ने उनको भनाई छ । श्रृङ्गीघाट सामुदायिक वनले पछिल्ला बर्षहरुमा अनुकरणीय काम गरेको भन्दै उनले वन स्थानीय तहसंग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

वरिष्ठ समाजसेवी झविलाल पोख्रेलले शिक्षा क्षेत्रमा सबैको सहज रुपमा पहुँच पुर्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । समग्र शैक्षिक क्षेत्रको समस्याको निराकरण गर्न सबै सरोकारवाला निकाय एकवद्ध हुनुपर्ने उनले बताए ।

बाणगंगा नगरपालिका वडा नं.३ की वडा सदस्य चन्द्रावती थारुले आर्थिक अभावकै कारण शिक्षाबाट बालबालिका बञ्चित हुने स्थिति आउन नदिने सबै निकायको सहकार्य आवश्यक रहेको बताईन् । उनले वडा नं.३ ले पनि शिक्षा क्षेत्रलाई प्राथमिकता साथ हेरेको दाबी गरिन् । सामुदायिक विद्यलायमा आर्थिक अवस्था कामजोर भएका परिवारका छोराछोरी मात्र पढ्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताईन् । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरियता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनु जरुरी रहेको बताईन् ।

शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरुले खुशी व्यक्त गर्दै अब थप उत्साहका साथ अध्ययन गर्ने बताएका छन् । वनकी सचिव कमला सेन ठकुरी ‘सुष्मा’ ले संचालन गरेको उक्त कार्यक्रम वनका अध्यक्ष गणेश कहादुर ठकुरी सुसिल को अध्यक्षमा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक संघका अध्यक्ष, प्रअ, टोल विकास समितिका पदाधिकारी, समाजसेवी तथा विद्यार्थीहरुका अभिभावक लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार