गृहपृष्ठ खबर बुद्धभूमि नगरपालिका-८ ले दियो ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री

बुद्धभूमि नगरपालिका-८ ले दियो ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री

प्रकाशित मिति:

बुद्धभूमि, वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ८ ले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार गरि ५० जना विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको वडा सचिव दिग विजय पाण्डेयले जानकारी दिए ।

वडा सचिव पाण्डेयले वडाको सामाजिक विकास तर्फको कार्यक्रम अन्तर्गत विद्यार्थीलाई झोला, कापी र कलम वितरण गरिएको बताए ।

वडा अध्यक्ष कपिलदेव तिवारीले शिक्षामा सबैको सरल र सहज रुपमा पहुँच होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको बताएका छन् । समाजका हरेक वर्गको शिक्षामा उल्लेख्य सहभागिता बढाउन आवश्यक रहेको उनले बताए । शिक्षा आर्जन गर्ने क्रममा आईपर्ने विविध समस्याको निराकरण गर्न वडा प्रतिवद्ध रहेको उनको भनाई छ ।

उनले शिक्षा क्षेत्रमा राज्यले बर्षेनी अरबौं लगानी गरेको तर सोही अनुसार परिणाम हात नपरेको भन्दै चिन्ता व्यक्त गरे । उनले राज्यको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको समेत बताए । उनले वडाले अबका आर्थिक बर्षहरुमा शिक्षामा लगानी बढाउँदै लैजाने बताए ।

बुद्धभूमि नगरपालिकाका विद्यालयहरुमा पनि लगानी अनुसारको प्रतिफल आउन नसकेको बताउँदै उनले वडा नम्बर ८ भित्रका विद्यालयहरुमा सुधारको थालनी गरिसकेको दाबी गरे । शिक्षा क्षेत्रलाई वडाले प्राथमिकता साथ हेरेको बताउँदै उनले भने, ‘आगामी दिनमा शैक्षिक सुधारका कार्यक्रम ल्याएर प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँछु ।’


उनले हरेक विद्यालयले शैक्षिक गुणस्तरियता कायम गर्दै समयानुकुल शिक्षा प्रदान गर्न आवश्यक रहेको बताए ।

शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरुले खुशी व्यक्त गर्दै अब थप उत्साहका साथ अध्ययन गर्ने बताएका छन् । उनीहरुले वडाले हरेक बर्ष विधार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्नुपर्ने गर्न यस्ता कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रअ, विधार्थी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार