गृहपृष्ठ खबर भौतिक विकाससंगै चेतनाको विकास हुनु पनि अति आवश्यक छ : वडाध्यक्ष थापा

भौतिक विकाससंगै चेतनाको विकास हुनु पनि अति आवश्यक छ : वडाध्यक्ष थापा

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.५ का वडाध्यक्ष रोम बहादुर थापा क्षेत्रीले भौतिक विकाससंगै चेतनाको विकास हुनु पनि अति आवश्यक रहेको बताएका छन् । हरेक व्यक्तिमा भौतिक संरचना निर्माण हुँदा मात्र विकास भएको भन्ने सोच्ने मानसिकता परिवर्तन हुनुपर्ने वडाध्यक्ष थापाको भनाई छ ।

शुक्रबार भएको वडाको सार्वजनिक सुनुवाई कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा उनले विगतका बर्षहरुमा भन्दा वडाभित्र सडकपुर्वाधारसंगै शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई जस्ता क्षेत्रमा उल्लेख्य काम भएको विवरण प्रस्तुत गरेका थिए । उनले हरेक व्यक्तिबाट प्राप्त सल्लाह, सुझावलाई आत्मसाथ गर्दै वडा अघि बढ्न तयार रहेको बताउँदै भने, ‘वडा सबैको हो । सबैले यस वडालाई राम्रो बनाउने अभियानमा साथ सहयोग दिनुपर्छ ।’

सबैले अपनत्व लिन सके मात्र वडाले विकास र समृद्धिमा छिट्टै फड्को मार्ने उनको भनाई छ । उनले आफु निर्वाचित हुँदाको केही दिनमै नमुना कार्यका रुपमा निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाएको स्मरण गरे । वडाध्यक्ष थापाले अन्य ठाउँमा सामाजिक सुरक्षा भत्ताका लागी बैंकमै पुग्नुपर्ने बाध्यता रहेको तर वडा नं.५मा वडाबाटै वितरण कार्यको थालनी गरेको सुनाए ।

सिमित स्रोत र साधनमा वडाले विकासका काम गर्नुपर्ने चुनौति रहेको उनले बताए । पालिकाबाट प्राप्त कम बजेट र वडाको आन्तरिक आम्दानी राम्रो नभएकाले अपेक्षाकृत रुपमा विकास निर्माणका नभएको गुनासो आउनुलाई आफुले स्वभाविक रुपमा लिएको उनले बताए । उनले आफु निर्वाचित भएपश्चात वडा कार्यालयको स्वरुप नै बदलिएको बताए ।

सौन्दर्यीकरणका काम गर्दै वडालाई चिटिक्क पारेपछि वडावासीले पनि खुशीको अनुभूति गरेको उनले सुनाए । उनले वितरणमुखी बजेटलाई रोकेर प्राथमिकताको आधारमा काम गर्ने योजना रहेको सुनाए ।

कार्यक्रममा वडा सचिव निरज थापा मगरले वडाको प्रशासनिक विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडाअध्यक्ष थापासहितका जनप्रतिनिधिहरु तिलकराम यादव, जमिर मुसलमान, आरती केवट, सुमन लोहार, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, विद्यालयका प्रअ, विधार्थी, समाजसेवी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार