गृहपृष्ठ खबर बुद्धभुमिका महिलाहरूलाई पञ्चेवाजा बजाउने तालिम

बुद्धभुमिका महिलाहरूलाई पञ्चेवाजा बजाउने तालिम

प्रकाशित मिति:

चेतन विष्ट, कपिलवस्तु ।

लोप हुँदै गरेको पञ्चेवाजा बजाउने सिपलाई उजागर गर्ने उद्देश्यले कपिलवस्तुको बुद्धभुमिमा महिलाहरूलाई पञ्चेवाजा बजाउने तालिम दिइएको छ । नेपाली मौलिक संस्कृतिसंग जोडिएको उक्त सिपलाई संरक्षण गर्ने उद्देश्यले यस्तो तालिम सञ्चालन गरिएको आयोजक संस्था चेली कृषि सहकारी संस्था लिमिटेडले जनाएको छ ।

तालिमको समापन सत्रलाई सम्बोधन गर्दै बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले लोप हुदै गइरहेको हाम्रो धर्म, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । नगरपालिकाले अहिले बजा र बाजा बजाउने सिपको लागि मात्र ७ लाख बढी बजेट खर्चेको भन्दै यस्ता सिपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

अहिले सिकेको सिप पुर्ण नभएको भन्दै एडभान्स तालिमको लागि आगामि आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । बाजा बजाएरै आर्थिक आम्दानी गर्न सक्ने भन्दै अब पुरुषले गर्ने काम महिलाले गर्न सक्दैनन भन्ने भाष्य चिरिएको बताउनुभयो ।

त्यस्तै बुद्धभुमि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तेज बस्नेतले यस क्षेत्रमै पहिलोपटक आयोजना गरिएको यस्तो तालिमले नगरकै सिर उचो भएको बताउनुभयो । पञ्चेवाजा बजाउने सिप हराउदै गैरहेको यस्तो समयमा हाम्रै गाउँघरका दिदिबहिनीले सिप सिकेको भन्दै सिपलाई अझ निखारता ल्याउनुपर्ने जोड दिनुभयो ।

चेली कृषि सहकारी संस्था र बुद्धभुमि नगरपालिका वडा नम्बर १ को आयोजना तथा बुद्धभुमि नगरपालिकाको सहआयोजनामा भएको तालिममा चेली सहकारीका १५ जना महिलाहरु सहभागी रहेका थिए । २० दिन सम्म चलेको तालिमको प्रशिक्षण सुनिल थापाले गर्नुभएको थियो । पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्ने भएपनि तालिममा थप नरसिंह पनि बजाउन सिकाइएको प्रशिक्षक सुनिल थापाले बताउनुभयो । तालिममा रिदम ताल लगायतका सिप सिकाइएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले बाजा बजाएर सहभागीहरुलाई नचाएका थिए ।

चेली सहकारीकी अध्यक्ष अरुणा श्रेष्ठको अध्यक्षता, बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, सहकारीका लेखा संयोजक विष्णु खड्काको स्वागत तथा कोषाध्याक्ष कमला टण्डनको सञ्चालनमा कर्याक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार