सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ र ८ पोषणमैत्री वडा घोषणा भएका छन् । आईतबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा यी दुई वडालाई पोषणमैत्री वडा घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक बाबुराम आचार्यले वडा नं.५ का अध्यक्ष दुनिका भुसाल र ८ का अध्यक्ष बाबुराम अर्याललाई सम्मानसहित पोषणमैत्री वडा भएको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । सो क्रममा यी दुई वडामा रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले वडाको लगातारको मेहनत्त र पालिकाको अथक प्रयासले वडा तथा स्वास्थ्य संस्थाहरु पोषणमैत्री बन्न सफल भएको बताए । चार दर्जन बढी सुचकहरु पुरा गर्दै वडा पोषणमैत्री वडा बनेको उनले बताए । उनले यो अवधिमा पटकपटक आफु वडाहरुमा पुगेर अनुगमन गरेको स्मरण गरे ।
पोषणमैत्री वडा घोषणा भएसंगै वडासंगै नगरपालिकामाथि थप जिम्मेवार आएको बताए । उनले यसलाई निरन्तरता दिन गाह्रो रहेको बताए । उनले बाणगंगालाई वातावरणमैत्री पालिका घोषणा गर्ने दिशातर्फ अघि बढ्न आग्रह गर्दै त्यसका लागी आफ्नो तर्फबाट गर्न सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगाले अहिलेको बजेटबाट सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गर्न सुरु गरेको बताए । उनले विगतका बर्षहरुमा भौतिक पुर्वाधार निर्माण ठूलो धनराशी खर्च गरेको स्मरण गर्दै सामाजिक विकास विना समाज समृद्ध हुन नसक्ने दाबी गरे । उनले बाणगंगा नगरपालिकाका कामकारबाहीलाई हेरेर अन्य पालिकाहरुमा योजना निर्माण हुने गरेको जिकीर गरे ।
उनले एकैपटक पालिकालाई नै पोषणमैत्री पालिका घोषणा गर्न सम्भव नदेखिएकाले क्रमश वडाहरु हुदैं पालिकालाई घोषणा गर्ने योजना रहेको सुनाए । उनले आर्थिक बर्ष २०८१/८२ मा कम्तिमा ३ वटा वडालाई पोषणमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित अघि बढेको सुनाए ।

नगर उपप्रमुख रिता कुमारी चौधरीले कपिलवस्तुमै पहिलो पटक बाणगंगाका दुई वडा पोषणमैत्री वडा घोषणा हुनु गर्वको विषय भएको बताईन् । उनले यसलाई दिर्घकालीन रुपमा लैजान थप चुनौति थपिएको बताईन् ।

प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जिल्लाकै अग्रणी पालिकाका रुपमा बाणगंगा रहेकाले यस पालिकाले हासिल गर्ने हरेक उपलब्धिले अन्य पालिकाहरुमा समेत सकारात्मक सन्देश प्रवाह हुने बताए । विगतमा बाणगंगाले स्वास्थ्यका क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरेको स्मरण गर्दै उनले आजदेखि थप जिम्मेवारी बोध भएको बताए ।

यस्तै आईतबार सोही कार्यक्रममा नगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को बार्षिक समिक्षा समेत गरिएको थियो । सो क्रममा हरेक शाखाबाट शाखा प्रमुखले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।








