सागर वि.क., वैखरी अनलाईन ।
१५ औं कपिलवस्तु महोत्सवमा पास व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी पाएका कृष्ण प्रसाद गैरेले पास व्यवस्थापनको काम चुस्तदुरुस्त रुपमा अगाडि बढाएको दाबी गरेका छन् । संयोजक गैरेले संघका पूर्वपदाधिकारी तथा सल्लाहकारहरुका लागि आयोजक पास उपलब्ध गराउने व्यवस्था मिलाएको भन्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताए ।
त्यस्तै गरि सहआयोजक, सहयोगी संस्था, विद्यालय, स्टल आदिका लागि पनि पासको व्यवस्था रहेको उनले जानकारी दिए । विगतका महोत्सवहरुमा पास व्यवस्थापन संयोजककै जिम्मेवारी निर्वाह गरिसकेकाले अहिले काम गर्न सहज भएको उनको अनुभव छ । उनले विगतमा कार्यसम्पादन गर्दाका क्षणहरु स्मरण भएको बताए ।
महोत्सव स्थलमा प्रवेशका लागि टिकटबाहेक ११ प्रकारका पासहरु उपलब्ध रहेको उनले जानकारी दिए । उनले ५ सय रुपैयाँमा बनाईने दैनिक पासले कहीकतै स्टलमा नघुम्न पर्ने सेवा आयोजकले उपलब्ध गराईएको उनले बताए । उनले १५औं कपिलवस्तु महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन सबैलाई महोत्सव अवलोकन गर्न अपिल समेत गरे ।
उनले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको भन्दै यस क्षेत्रका कृषक, उद्योगी, व्यवसायीका उत्पादनको बजारीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
महोत्सवले औद्योगिक एवं हस्तकलाका उत्पादनसंगै सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनको प्रवर्धनमा सघाउ पुग्ने उनले बताए । आर्थिक मन्दी झेलिरहेका उद्यमी, व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रुपमा महोत्सवलाई लिन सकिने उनको भनाई छ ।