गृहपृष्ठ खबर मायादेवी साझेदारी वनको १२औं बार्षिक साधारण सभा सम्पन्न

मायादेवी साझेदारी वनको १२औं बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

मायादेवी साझेदारी वन उपभोक्ता समूह पटनाको १२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम विहिबार बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा रहेको पिस हिमालयन रिसोर्टमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद मधुसुधन शरण चौधरीले सरकारले किसानलाई पर्याप्त मल उपलब्ध गराउन नसकेको भन्दै असन्तुष्टि पोखेका छन् । किसानका समस्या समाधान गर्न सरकार गम्भिर नभएको भन्दै उनले किसान आन्दोलनले मात्र सरकार जाग्ने बताए । ‘नेपाललाई कृषि प्रधान देश भन्छौं । खै कसरी कृषि प्रधान देश भयो । यो सरकारले मलखाद उपलब्ध गराउन सक्दैन्,’ उनले भने ।

किसान खुशी हुँदा नेपालका सबै जनता खुशी हुने उनको भनाई छ ।

उनले वन अतिक्रमण हटाएर वृक्षरोपण गर्दै वन संरक्षणमा लाग्नुपर्ने बताए । त्यसका लागि आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धता समेत जनाए । उनले वास्तविक सुकुम्बासी पहिचान गरेर जग्गा उपलब्ध गराउने नेपाल सरकारको दायित्व भएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले मायादेवी साझेदारी वनका लागि वन अतिक्रमणलाई रोक्ने मुख्य चुनौति रहेको बताए ।

 

उनले वास्तविक सुकुम्बासीलाई उचित तवरले व्यवस्थापन गर्नुपर्ने बताउँदै नक्कली सुकुम्बासीकाले गर्दा समस्या सिर्जना भएको बताए ।

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले वन अतिक्रमण रोक्ने काममा यस वनले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरिन् । उनले हाल भुमि आयोग नहुँदा बाणगंगामा सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने कार्य रोकिएको बताईन् । वातावरण प्रदुषण र जलवायु परिवर्तनले समग्र प्राणीको जीवनमा नकारात्मक असर पुगेको उनले वन संरक्षणमा सबै एकतावद्ध भएर लाग्नुपर्ने बताईन् ।

वनका अध्यक्ष दिनेश प्रसाद जयसवालले वनसंग सम्बन्धित सम्पूर्ण निकायसंग आवश्यक सहकार्य गरेर अघि बढिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । वनले वन संरक्षण, सम्बद्र्धनलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष जयसवालले समाज रुपान्तरणमा वनले खेल्न सक्ने भूमिका निर्वाह गर्न आफ्नो टिम तयार रहेको बताए ।

वन सबैको साँझा सम्पत्ति भएकाले यसको रेखदेखमा सबैले चासो देखाउनुपर्ने उनको भनाई छ । उनले वनलाई दिगो व्यवस्थापन गर्दै अझ सुन्दर र रमणीय बनाउने बताए । सो क्रममा अध्यक्ष जयसवालले ७ करोड ४४ लाख ५५ हजार बराबरको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

गोविन्द प्रसाद पौडेलको संचालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले मायादेवी साझेदारी वनले वन संरक्षण तथा वन अतिक्रमण रोक्ने कार्यमा तुलनात्मक रुपमा अन्य वनभन्दा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

साही कार्यक्रममा वनका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित् समाचार