बुद्धभूमि, वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) ‘लिजा’ प्रकाशन गर्नेमा नेपालमै प्रथम बनेको छ । बुद्धभूमि ८६.५ अंकसहित एलआईएसए ‘लिजा’ प्रकाशन गर्नेमा नेपालमै प्रथम बनेको हो ।
नगरपालिकाले शासकिय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, स्थानीय कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, र सहकार्य समन्वय गरि १० वटा यी क्षेत्रमा ८६.५ अंक प्राप्त गरेको हो ।
नगरपालिकाले सम्पादन गरेका कार्यहरुको समिक्षा गर्दा ८६.५ अंक प्राप्त भएको र आवश्यक निर्णयका लागि जिल्ला समन्वय समितिमा पठाईएको नगरप्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए । उनले जिल्ला समन्वय समितिबाट प्राप्त अन्तिम नतिजा समेत प्रकाशन गरिने बताउँदै आगामी दिनमा विभिन्न क्षेत्रहरुमा सुधार गर्दै सेवा प्रवाह थप प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाए । उनले नगरपालिकालाई विकास र समृद्धिको मूल प्रवाहमा ल्याएको दाबी गरे । उनले नगरपालिकामा पारदर्शिता कायम गर्दै सुशासन कायम गर्न नगर प्रतिवद्ध रहेको बताए ।
जवाफदेहितामा अब्बल देखिएको बुद्धभूमि नगरपालिकाले सुशासन र सेवा प्रवाहमा प्रभावकारी काम गर्दै आएको छ । जसको चर्चा विगतदेखि नै कपिलवस्तुसहित लुम्बिनी प्रदेशमै हुदैं आएको थियो । अहिले सो चर्चा ‘लिजा’ प्रकाशन गर्नेमा बुद्धभूमि नेपालमै प्रथम भएपछि थप चुलिएको छ ।
स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) कार्यान्वयनमा ल्याइएको हो ।